पर्याप्त वर्षा नहुँदा रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ

भैरहवा, २२ असार – मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका अधिकांश किसान बोरिङ र पम्पसेटको सहारामा धान रोप्न बाध्य भएका छन्। जिल्लाको कोटहीमाई, मर्चवारी, सम्मरीमाई, गैडहवा र ओमसतिया गाउँपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकालगायतका क्षेत्रमा भूमिगत पानी तानेर धान रोपाइँ भइरहेको छ।

स्थानीयका अनुसार विगतका वर्षमा आकाशे पानी र कुलोको सिँचाइमा निर्भर रहने किसान यस वर्ष चर्को घामका बीच महँगो खर्च गरेर बोरिङ सञ्चालन गर्न बाध्य भएका छन्। समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित हुनुका साथै धान उत्पादनमा समेत असर पर्ने चिन्ता किसानमा बढेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाका किसान अमित चौहानले वर्षौंअघि निर्माण गरिएका कुलो संरक्षण र नियमित मर्मतको अभावमा प्रयोगविहीन बनेकाले खेतसम्म सिँचाइको पानी पुग्न नसकेको बताउनुभयो।

“कुलो त छन्, तर पानी छैन। मर्मतसम्भार नहुँदा किसानले त्यसको लाभ लिन सकेका छैनन्,” उहाँले भन्नुभयो। मर्चवारी गाउँपालिकाका किसान बैजनाथ बरइका अनुसार अधिकांश किसान अहिले पम्पसेटमार्फत सिँचाइ गरेर धान रोपिरहेका छन्। कतिपय ठाउँमा तीनदेखि चारवटा पम्पसेट एकैसाथ सञ्चालन गरेर खेतमा पानी पुर्‍याइँदै आएको उहाँले बताउनुभयो।

स्थानीयका अनुसार मर्चवार क्षेत्रसहित रुपन्देहीका दक्षिणी भेगमा स्थायी सिँचाइ प्रणालीको अभावका कारण किसानले हरेक वर्ष यस्तै समस्या झेल्दै आएका छन्। भूमिगत पानीमा बढ्दो निर्भरता, डिजेल तथा विद्युत्को बढ्दो खर्च र मौसमको अनिश्चितताले खेतीको लागत उल्लेखनीय रूपमा बढाएको उनीहरूको गुनासो छ।

Facebook Comments Box