आरोग्य पर्यटनको गन्तव्य बन्दै म्याग्दीको भंकासे

म्याग्दी, १५ असार – प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र शान्त वातावरणले भरिएको म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतस्थित भंकासे आरोग्य पर्यटनको सम्भावना बोकेको गन्तव्यका रूपमा चिनिन थालेको छ। आवश्यक पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ओझेलमा परे पनि स्थानीय तहले यसलाई व्यवस्थित पर्यटनस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको छ।

समुद्री सतहदेखि करिब दुई हजार ६०० मिटर उचाइमा रहेको भंकासे चारैतिर घना जंगल, अग्ला पहाड र हिमशृङ्खलाले घेरिएको समथर स्थल हो। यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। स्थानीयका अनुसार म्याग्दीका साविकका ४१ गाविसमध्ये ३५ वटा क्षेत्रको भूभाग यहाँबाट देख्न सकिन्छ।

स्थानीय लोकबहादुर पुनका अनुसार पहाड भासिएर ठूलो प्वाल बनेको स्थानलाई पहिले ‘भ्वाङ खसेको’ भनिन्थ्यो। समयक्रममा यही शब्द अपभ्रंश हुँदै ‘भंकासे’ नाम रहन गएको जनविश्वास छ। भंकासेमा अहिले पनि पहाड भासिएर बनेको प्राकृतिक ओडार तथा त्यस आसपास करिब १० रोपनी समथर खुला जमिन रहेको छ। यहाँबाट करिब २०० मिटर तल रहेको सिद्धथान धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।

मान्यताअनुसार सिद्धथानमा प्राचीनकालमा ऋषिमुनिहरूले तपस्या गरेका थिए। उनीहरूले देहत्याग गरेको स्थानमा अहिले मन्दिर र धर्मशाला निर्माण गरिएको छ। हाल पनि देशका विभिन्न स्थानबाट साधुसन्त र तपस्वीहरू ध्यान तथा तपस्याका लागि यहाँ आउने गरेका छन्।सिन्धुपाल्चोकबाट आएका तपस्वी रूपचन्द्र विगत १२ वर्षदेखि भंकासे क्षेत्रमा तपस्यारत छन्। उनले विश्वशान्ति र विकृतिमुक्त समाजको कामनासहित आफूले यहाँ तपस्या गरिरहेको बताएका छन्।

भंकासे पुग्न पात्लेखेतको वाखेतबाट करिब ३० मिनेट पैदल हिँडेर सिद्धथान र त्यहाँबाट थप १५ मिनेट उकालो लाग्नुपर्छ। रघुगंगा गाउँपालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सीमामा रहेको पर्यटकीय गन्तव्य टोड्केबाट पनि करिब ४० मिनेटको पैदल यात्रामा भंकासे पुग्न सकिन्छ।

बेनी नगरपालिका–१० का वडाध्यक्ष मसविर रोकाका अनुसार सिद्धथान र भंकासेलाई ‘एक वडा, एक पर्यटन परियोजना’ अन्तर्गत आरोग्य पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ। यसका लागि वाखेत–सिद्धथान–भंकासे पदमार्ग तथा सडक निर्माण गरिएको छ भने यस क्षेत्रसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक तथ्य सङ्कलनका लागि धर्मगुरुमार्फत अनुसन्धानसमेत सुरु गरिएको उहाँले जानकारी दिनुभयो।

Facebook Comments Box