हुम्लाको नेप्का गाउँमा बाढीपहिरो : विद्यालय बग्यो, गोठ र खेतीयोग्य जमिनमा ठूलो क्षति
हुम्ला, ६ जेठ – हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ । असिना–पानीसहित आएको बाढीले डाँफे आधारभूत विद्यालय बगाएको स्थानीयले बताएका छन् । साथै खेतीयोग्य जमिन र गोठहरूमा पनि क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । चंखेली गाउँपालिका–५ का स्थानीय छक्कबहादुर तामाङका अनुसार बाढीपहिरोले गाउँका विभिन्न संरचना तहसनहस बनाएको छ ।
वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पहिरोले पुरिएका छन् । त्यसबाट भेँडाबाख्रामा पनि क्षति पुगेको बताइएको छ ।वडाध्यक्ष हर्कधन तामाङले गोठ पुरिए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म मानवीय क्षतिको सूचना भने प्राप्त भएको छैन ।
अनलाइनखबरसँग टेलिफोन संवादमा उहाँले भन्नुभयो, “म गाउँपालिकाको केन्द्रमा छु । राति गाउँमा बाढी–पहिरो आएर मेरो र धनसिंह तामाङको गोठ पुरिँदा भेँडाबाख्रा पुरिएको खबर आएको छ । थप विवरण बुझ्दैछु ।” उहाँका अनुसार गाउँमा कोदो खेती हुने धेरै जमिन बाढीले बगरमा परिणत गरेको छ । “जमिन त तहसनहस पारेर केही बाँकी छैन रे,” उहाँले भन्नुभयो, “रातिको घटना भएकाले क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।”
घटनास्थलतर्फ मेल्छाम प्रहरी चौकीको टोली आज बिहान प्रस्थान गरेको छ । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले नेप्का गाउँ दुर्गम क्षेत्रमा पर्ने भएकाले क्षतिको पूर्ण विवरण आउन समय लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढी–पहिरोले क्षति पुगेको सूचना आएको छ । स्थानीय र प्रहरीमार्फत थप विवरण संकलन भइरहेको छ ।”
हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तर–पूर्वमा पर्ने चंखेली गाउँपालिकामा तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् । नेप्का गाउँ वडा नम्बर ५ मा पर्छ । उक्त क्षेत्रमा सडक पहुँच नहुँदा गाउँपालिकाको केन्द्रसम्म पुग्न जोखिमपूर्ण बाटो हुँदै करिब पाँच घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको छ ।

