चार ठूला मार्टसहित अन्य फर्म कारबाहीको दायरामा
काठमाडौँ, २३ चैत – बजारलाई स्वच्छ र व्यवस्थित बनाउन निरन्तर अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले चार ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ। आज गरिएको स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि विभागले ती मार्टहरूलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो।
कारबाहीमा परेका संस्थामा मेट्रो मार्केट प्रालि, सेलवेज क्यास एण्ड क्यारी प्रालि, मेगा मार्ट प्रालि र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि रहेका छन्। त्यसैगरी मुना कृषि लिमिटेड लाई पनि उस्तै निर्देशन दिइएको विभागले जनाएको छ।
अनुगमनकै क्रममा अन्य १० वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ। स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको उपस्थितिमा विभागले कालाबजारी नियन्त्रण तथा अखाद्य वस्तुको बिक्री–वितरण रोक्ने उद्देश्यका साथ नियमित निरीक्षण गर्दै आएको जनाएको छ।

