ओली पक्राउपछि एमालेको आकस्मिक बैठक, आन्दोलन घोषणा गर्ने तयारी
काठमाडौँ, १४ चैत – नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक बैठक बोलाएको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक आह्वान गरिएको छ। बैठकपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने उनले जानकारी दिएका छन्।
बस्नेतले पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै नेपालमा राजनीतिक बन्दी नहुनु लोकतन्त्रको महत्त्वपूर्ण सूचक मानिँदै आएको भए पनि अहिलेको अवस्थाले त्यसमा प्रश्न उठाएको बताएका छन्। उनले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले अनुभवहीन र विवादित व्यक्तिलाई गृहमन्त्री बनाएको तथा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको आरोप लगाएका छन्।
बस्नेतले यी गतिविधि राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित देखिएको दाबी गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न आन्दोलनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गरेका छन्। एमालेले आज बस्ने सचिवालय बैठकपछि आन्दोलनका कार्यक्रमबारे विस्तृत जानकारी दिने जनाएको छ।

