ओली र लेखकमाथि ‘हेलचक्र्याईं गरी ज्यान मारेको’ अभियोग
काठमाडौं, १४ चैत – प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ‘हेलचक्र्याईं गरी ज्यान मारेको’ अभियोगमा पक्राउ गरेको जनाएको छ। तीन दिनअघि सार्वजनिक भएको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूबाट लापरबाही भएको ठहर गरेको थियो। सोही लापरबाहीका कारण ज्यान गुम्ने घटना भएको उल्लेख गर्दै कानुनी कारबाहीको सिफारिस गरिएको थियो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले आफ्नो प्रतिवेदनमा ओली, लेखक तथा पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतमाथि मुलुकी अपराध संहिता आकर्षित हुने उल्लेख गरेको थियो। प्रहरीले मुलुकी अपराध संहिताका दफा २८१, २८२ र २८३ अनुसार कारबाही अघि बढाएको जनाएको छ।
ती दफामा ‘हेलचक्र्याईं गरी ज्यान मार्न नहुने’ व्यवस्था रहेको छ। यस्तो कसुर प्रमाणित भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ। यसैबीच, नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले शपथ लिएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीबाहेकका हकमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

