वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी निर्माण
म्याग्दी, १० चैत – वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण सुरु गरिएको छ। डिभिजन वन कार्यालय म्याग्दी को सहयोगमा सामुदायिक वन उपभोक्ता समूहहरूले यस वर्ष छ वटा पोखरी निर्माण थालेका हुन्।
डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीका अनुसार वन्यजन्तु पानी र आहाराको खोजीमा बस्तीमा नआउन्, वनमै पानी उपलब्ध गराई चिस्यान कायम राख्न तथा डढेलो लागेमा निभाउन आवश्यक पानी संकलन गर्न पोखरी निर्माण गरिएको हो। उहाँका अनुसार यस कार्यक्रमले पछिल्ला चार वर्षदेखि निरन्तरता पाएको छ र प्रभावकारी देखिएको छ।
वनमै पानी र आहाराको व्यवस्था भएपछि वन्यजन्तु बस्तीमा पस्ने क्रम घटेको र द्वन्द्व व्यवस्थापनमा सहयोग पुगेको बताइएको छ। पोखरी निर्माणका लागि बेनी नगरपालिका–५ चिप्लरी सिमपाखो, मङ्गला–१ कुहुँ पात्लेपानी, धवलागिरि–३ मुनाको दहपातल, रघुगङ्गा–६ ठाडाखानी, मालिका–६ सानो धैरेनी उपल्लोतला र अन्नपूर्ण–७ घराम्दी क्षेत्र छनोट गरिएको छ।
करिब ६१.७५ वर्गमिटर क्षेत्रफलका प्रत्येक पोखरीमा ६१ हजार लिटर पानी संकलन गर्न सकिनेछ। प्रत्येक पोखरी निर्माणका लागि एक लाख रुपैयाँ अनुदान प्रदान गरिएको छ। यसअघि आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म कुल ३१ वटा पोखरी निर्माण भइसकेका छन्। पछिल्लो समय रतुवा, मृग, बाँदर र चितुवाजस्ता वन्यजन्तु बस्तीमा पसेर क्षति पुर्याउने समस्या बढ्दै गएको अवस्थामा यस्तो पहल उपयोगी हुने अपेक्षा गरिएको छ।

