आज देशभर वर्षा हुने साथै तराईमा हावाहुरीको सम्भावना

काठमाडौं, २३ भदौ – आज देशभर मौसम बदली र वर्षा साथै तराईमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि काठमाडौं उपत्यकासहित देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

‘यतिखेर देशभर मौसम सामान्य बदली भएको छ भने कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ’, मौसमविद् अधिकारीले भने, ‘काठमाडौं उपत्यकामा पनि कतै कतै हल्का पानी परिरहेको छ।’

मौसम महाशाखाकाे अनुसार दिउँसो देशभर मौसम आंशिक देखि सामान्यसम्म बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

दिउँसो मधेश प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि देशभर मौसम आंशिक देखि सामान्यसम्म बदली रहनेछ भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ। आज काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना छ। ‘काठमाडौं उपत्यकामा दिउँसो हल्कादेखि मध्यम तथा राति पनि क्षणिक वर्षाको सम्भावना रहेकाे छ।

त्यस्तैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। मधेश प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिमलगायत चट्याङ तथा हावाहुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।

Facebook Comments Box