नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा ब्रिटिश र्‍यापरलाई १२ वर्ष जेल सजाय

लन्डन, २० फागुन – कारको ठक्करबाट एक नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा दोषी ठहरिएका चर्चित ब्रिटिश र्‍यापरलाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ। गत १८ अक्टोबर २०२५ मा उत्तर–पूर्वी लन्डनको इल्फोर्डमा २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको मृत्यु भएको घटनामा ‘गेट्स’ नामले चिनिने अवार्ड विजेता र्‍यापर जस्टिन क्लार्क स्यामुएललाई इङ्गल्याण्ड र वेल्सको फौजदारी अदालत ओल्ड बेलीले मंगलबार १२ वर्षको कारावास सजाय सुनाएको हो।

४१ वर्षीय स्यामुएललाई खतरनाक तरिकाले सवारी चलाएर मृत्यु गराएको अभियोगमा दोषी ठहर गर्दै न्यायाधीश मार्क लुक्राफ्टले १७ वर्षका लागि सवारी चलाउन अयोग्यसमेत ठहर गरेका छन्। अदालतमा स्यामुएलले खतरनाक ड्राइभिङका कारण युविनको मृत्यु भएको स्वीकार गरेका थिए। पूर्वी लन्डनको वुडफोर्ड निवासी उनले सोही दिन गरेको अर्को जोखिमपूर्ण ड्राइभिङसम्बन्धी अभियोगमा पनि दोष स्वीकार गरेका थिए।

साथै, मादक पदार्थको सीमा नाघेर सवारी चलाएको र जोखिमपूर्ण ड्राइभिङ गरेको दुई थप अभियोगसमेत उनीमाथि लागेको थियो। इल्फोर्डस्थित रेडब्रिज लेनमा बेलुका स्यामुएलले चलाएको बीएमडब्लु कारले बाटो काटिरहेका युविनलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका युविनको दुई दिनपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो। घटना पछि चालक फरार भएका थिए। सीसीटीभी फुटेजमा घटना स्तब्ध पार्ने देखिएको बताइएको छ।

अदालतका अनुसार ३० माइल प्रतिघण्टा क्षेत्रभित्र उनले ६० माइल प्रतिघण्टाभन्दा बढी गतिमा गाडी चलाएका थिए। प्रहरीले घटनाको भोलिपल्ट बिहानै वुडफोर्डस्थित उनको घरमा खोजतलास गरी उनकै नाममा दर्ता र बीमा गरिएको कालो बीएमडब्लु गाडी गम्भीर रूपमा क्षतिग्रस्त अवस्थामा फेला पारेको थियो।

धरान–११ निवासी बाबा विकास तामाङ र आमा शर्मिला मगर तामाङका एक्ला छोरा युविन उच्च शिक्षाका लागि सन् २०२४ सेप्टेम्बरमा बेलायत गएका थिए। उनी University of Roehampton मा बीएस्सी बिजनेस म्यानेजमेन्टको दोस्रो वर्षमा अध्ययनरत थिए। युविनको निधनपछि बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाले परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका थिए।

Facebook Comments Box