निर्वाचन ४ दिन बाँकी : मतदानका दिन सवारी पासको यस्तो व्यवस्था

काठमाडौँ, १७ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचन आउन चार दिन बाँकी रहँदा निर्वाचन आयोगले मतदानका दिन सञ्चालन हुने सवारीसाधनका विषयमा स्पष्ट व्यवस्था सार्वजनिक गरेको छ।  आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी र अत्यावश्यक सेवामैत्री बनाउन ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’अनुसार केही सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएको छ।

आयोगका अनुसार सम्बन्धित प्रयोजनका लागि मात्र प्रयोग हुने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास नचाहिने सिफारिस नेपाल सरकारलाई गरिएको छ। आयोगका अनुसार दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई पास आवश्यक नपर्नेछ।

दूरसञ्चार, खानेपानी, विद्युत् र ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन तथा अस्पताल सेवामा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको आवतजावतका लागि प्रयोग हुने सवारीसाधन पनि पासबिना सञ्चालन गर्न पाइनेछ। अन्तरराष्ट्रिय तथा आन्तरिक उडानका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म)लाई समेत पास नचाहिने स्पष्ट पारिएको छ।

यसैगरी गर्भवती, सुत्केरी, आफ्नै शिशु बोकेकी महिला, कीरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता तथा तिनका एक जना सहयोगी बोकेका सवारीसाधन निर्वाध सञ्चालन गर्न सकिनेछ।

नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी परिचयपत्रवाहक पर्यवेक्षकले प्रयोग गर्ने सवारीसाधन (तोकेको क्षेत्रमा मात्र), राष्ट्रिय मानवअधिकार आयोगका अनुगमन सवारीसाधन तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन पनि सहज रूपमा सञ्चालन हुन सक्नेछन्।

आयोगले निर्वाचनका दिन सवारी आवागमन व्यवस्थापनका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी एकीकृत सवारीसाधन आवागमन डेस्क स्थापना गरेको जनाएको छ। आयोग परिसरमा सञ्चालनमा रहेको उक्त डेस्कबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी हुने सवारी पास उपलब्ध गराइँदै आएको जनाइएको छ।

Facebook Comments Box