सर्लाहीको मलङ्वामा दादुरा देखिएपछि विशेष खोप अभियान सुरु

सर्लाही, १४ माघ – सर्लाहीको मलङ्वा नगरपालिकामा २३ जना बालबालिकामा दादुरा सङ्क्रमण पुष्टि भएपछि प्रभावित क्षेत्रमा विशेष दादुरा–रुबेला खोप अभियान सुरु गरिएको छ । दादुरा देखिएको मलङ्वा नगरपालिका–३ तथा त्यससँग जोडिएका वडा नं २, ४, ८, ९ र १० मा छ महिनादेखि १५ वर्ष उमेर समूहका करिब आठ हजार बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले जानकारी दिनुभयो ।

गत पुस २४ गते मलङ्वा नगरपालिका–३ को मुस्लिम टोलमा एक पाँच वर्षे बालकमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित प्रयोगशालामा नमुना पठाइएको थियो । परीक्षणबाट दादुरा पुष्टि भएपछि सम्पर्कमा आएका बालबालिकाको परीक्षण गर्दा थप २२ जनासहित कुल २३ जनामा सङ्क्रमण देखिएको हो । नगर स्वास्थ्य शाखाका अनुसार सङ्क्रमित सबै बालबालिका छ महिनादेखि ११ वर्ष उमेर समूहका हुन् ।

हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको नगर स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जानकारी दिनुभयो । परिवार कल्याण महाशाखा टेकुको निर्देशन र राष्ट्रिय खोप समन्वय समितिको निर्णयअनुसार प्रभावित क्षेत्रमा खोप तथा खोजी अभियान एकैसाथ सञ्चालन गरिएको हो । यस क्रममा मास्कको प्रयोग, दूरी कायम गर्ने र लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्थानीयलाई सूचना तथा घरदैलोमार्फत जानकारी गराइएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार यही माघ १६ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । हालसम्म विद्यालय र मदरसामा पुगेर ३ हजार ५४५ जना बालबालिकालाई खोप लगाइसकिएको छ । नियमित खोप लगाइसकेका बालबालिकालाई पनि विशेष अभियानमा सहभागी गराउन अभिभावकलाई आग्रह गरिएको छ ।

नेपालमा उन्मूलन घोषणा भइसकेको दादुरा पुनः देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चासो देखाएको छ । चिकित्सकका अनुसार अत्यन्त सङ्क्रामक मानिने दादुरा श्वासप्रश्वासको माध्यमबाट सजिलै सर्ने गर्दछ । दादुराबाट बच्न बालबालिकालाई नौ महिना र १५ महिनामा दुई मात्रा खोप अनिवार्य लगाउनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

Facebook Comments Box