देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने सम्भावना

काठमाडौँ, ७ माघ – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । हुस्सु तथा कुहिरोका कारण तराईका विभिन्न विमानस्थलमा दृश्यता घट्न सक्ने भएकाले हवाई सेवामा ढिलाइ वा अवरोध हुनसक्ने चेतावनी दिइएको छ । साथै लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने चालकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Facebook Comments Box