नदी किनारमा भवन निर्माणको प्रतिबन्ध हट्यो
काठमाडौँ, ७ माघ – काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ–बायाँ भवन निर्माण अनुमतिमा यसअघि लगाइएको प्रतिबन्ध हटाएको छ । महानगरपालिकाले आज जारी गरेको सूचनामा सर्वोच्च अदालतको आदेशअनुसार नदी किनार क्षेत्रमा भवन निर्माण गर्न अनुमति दिइने जनाएको छ ।
सूचनामा सर्वोच्च अदालतको आदेशको आधारमा २०६५ मंसिर १ गतेको मन्त्रिपरिषद् बैठकले निर्धारण गरेको मापदण्डको अधीनमा रही कार्य गर्न कुनै बाधा नरहेको उल्लेख गरिएको छ । महानगरपालिकाले ‘कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण गर्न अनुमति दिन रोक नलगाइने र निर्माण भइरहेका संरचनामासमेत रोक्का नराखिने’ स्पष्ट गरेको छ ।
यससँगै सर्वोच्च अदालतले काठमाडौँका खोला किनारमा थप २० मिटर कायम गरिएको मापदण्ड उल्ट्याएपछि महानगरले त्यसअनुसार निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ ।

