पूर्वी नेपालका विभिन्न जिल्लामा उम्मेदवारी दर्ता सम्पन्न

काठमाडौँ, ७ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वी नेपालका विभिन्न जिल्लामा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । मोरङ, सुनसरी, इलाम, भोजपुर, खोटाङ र ओखलढुङ्गामा ठूलो संख्यामा उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

मोरङ

मोरङका छवटै निर्वाचन क्षेत्रमा कूल ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं १ मा १८, क्षेत्र नं २ मा १७, क्षेत्र नं ३ मा २१, क्षेत्र नं ४ मा २१, क्षेत्र नं ५ मा २२ र क्षेत्र नं ६ मा २० जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रमुख राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारहरूको उल्लेखनीय उपस्थिति देखिएको छ ।

सुनसरी

सुनसरीका चार निर्वाचन क्षेत्रमा कूल ११० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं १ मा २६, क्षेत्र नं २ मा २८, क्षेत्र नं ३ मा २२ र क्षेत्र नं ४ मा ३४ जनाको उम्मेदवारी परेको छ । जिल्लामा पाँच लाख ८० हजार ९४५ मतदाता रहेका छन्, जसमा दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई तेस्रोलिङ्गी मतदाता रहेका छन् ।

इलाम

इलामका दुई निर्वाचन क्षेत्रमा तीन महिलासहित २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं १ मा १३ र क्षेत्र नं २ मा १४ जनाको उम्मेदवारी परेको छ । जिल्लामा कूल दुई लाख ३१ हजार ८०९ मतदाता कायम छन् । यसपटक अघिल्लो निर्वाचनको तुलनामा ६ हजार ९३२ मतदाता थपिएका छन् ।

भोजपुर

भोजपुरमा १२ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा एक लाख २५ हजार ७६६ मतदाता रहेका छन् । यहाँ ८७ मतदानस्थल र १६१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

खोटाङ

खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा एक मात्र निर्वाचन क्षेत्र रहेको छ । आगामी निर्वाचनका लागि १३६ मतदानस्थल र १९५ मतदान केन्द्र कायम गरिएको छ । खोटाङमा एक लाख ४७ हजार १२० मतदाता रहेका छन् ।

ओखलढुङ्गा

ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख राजनीतिक दलका साथै साना दल र स्वतन्त्र उम्मेदवारहरूको समेत सहभागिता रहेको छ ।

Facebook Comments Box