वर्षायाममा पनि कालीगण्डकीमा अवैध दोहन
पर्वत, २९ साउन
नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०७५ अनुसार असारदेखि भदौ मसान्तसम्म नदीजन्य निर्माण सामग्री उत्खनन, सङ्कलन तथा घाटगड्डी खोल्ने कार्य प्रतिबन्धित भए पनि वर्षायाममा पवित्र कालीगण्डकी नदीमा अवैध दोहन झन् तीव्र भएको पाइएको छ।
पर्वत जिल्लाभित्रका विभिन्न स्थानमा दिनरात लुकीछिपी बालुवा र ढुंगामाटो निकाल्ने कार्य जारी रहेको जिल्ला समन्वय समिति पर्वतले हालैको अनुगमनमा फेला पारेको हो। संयोजक विष्णुराम विकको नेतृत्वमा गरिएको अनुगमनमा पर्वत–म्याग्दी सिमानास्थित राममन्दिर घाटदेखि दमुवाखोलासम्मका १० स्थानमा अवैध उत्खनन भएको पत्ता लाग्यो।
अनुगमन टोलीले झन्डै १४ हजार घनमिटर बालुवा र नम्बर प्लेटविहीन जेसिबी जफत गरेको छ। स्थानीय जलजला गाउँपालिकालाई उक्त बालुवाको जरिवाना असुल गर्न निर्देशन दिइएको छ, जसको मूल्य करिब डेढ करोड रुपैयाँ पर्ने अनुमान छ। साथै, जलजला–४ घुमाउने ताल बगरमा उत्खननमा प्रयोग भएको अर्को एक्साभेटर सिल गरिएको जिल्ला समन्वय अधिकारी किरण पौडेलले बताए।
राजस्व शाखाप्रमुख कृष्ण रिजालका अनुसार ठेक्का नखुलाउँदै अवैध उत्खनन गर्नेहरूलाई जरिवाना असुल गर्ने र आगामी दिनमा यस्ता कार्य रोक्ने तयारी गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले नगर प्रहरीमार्फत निगरानी बढाइएको र अन्य निकायसँग पनि सहयोग अपेक्षित रहेको उल्लेख गरे।
यसअघि, सर्वोच्च अदालतले २०७८ असार २९ गते अन्तरिम आदेशमार्फत नदी उत्खनन रोक्ने आदेश दिएको थियो। चार वर्षपछि, गत कात्तिक ११ गते न्यायाधीश डा. कुमार चुडाल र विनोद शर्माको इजलासले रिट खारेज गरेपछि पुनः उत्खनन सुरु भएको हो। जिल्ला समन्वय समिति प्रमुख विकका अनुसार अवैध रूपमा प्राकृतिक स्रोतसाधनको उत्खनन गर्नेहरूलाई कारबाही गर्न अन्य सम्बन्धित निकायको सहकार्य अपरिहार्य छ।

