विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरीको सफल उद्यम
पर्वत, १५ पुस – गाउँमै रहेको सम्भावना नदेखेर युवायुवतीहरू विदेश पलायन भइरहेका बेला पर्वतका एक पूर्वप्रहरीले खोलामा खेर गइरहेको पानीको सदुपयोग गर्दै रेन्बो ट्राउट माछापालनबाट वार्षिक करिब तीन करोड रुपैयाँको कारोबार गर्दै आउनुभएको छ।
पर्वतको मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालन व्यवसाय सञ्चालन गरी सफल उद्यमीको उदाहरण प्रस्तुत गर्नुभएको हो। उहाँले अन्य चार जना स्थानीयको संयुक्त लगानीमा व्यवसाय सञ्चालन गर्नुभएको छ।
एक्काइस वर्ष प्रहरी सेवामा बिताउनुभएका तिमिल्सिना विसं २०७४ को स्थानीय तह निर्वाचनमा मोदी गाउँपालिका–२ को वडाध्यक्षसमेत निर्वाचित हुनुभएको थियो। जनप्रतिनिधिको कार्यकाल पूरा भएपछि उहाँ पूर्ण रूपमा व्यवसायमा केन्द्रित हुनुभएको छ।
मोदी गाउँपालिका–५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहान नजिक करिब ३० रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको फार्ममा झण्डै तीन करोड रुपैयाँ लगानी गरिएको छ। फार्मबाट वार्षिक रूपमा करिब ३० टन माछा उत्पादन हुने र त्यसबाट करिब तीन करोड रुपैयाँको कारोबार हुने तिमिल्सिनाले जानकारी दिनुभयो। “फार्मसम्म पुग्ने सडकको अवस्था निकै जटिल छ, मृत्युमार्गजस्तै छ,” उहाँले भन्नुभयो, “तर पनि हरेस नखाई व्यवसायलाई निरन्तरता दिइरहेको छु।”
चारैतिर वन र दुईतर्फ खोलाले घेरिएको उक्त क्षेत्र चिसोपानीमा हुर्कने रेन्बो ट्राउटका लागि अनुकूल हावापानी भएको मानिन्छ। पोखरा–बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट करिब पाँच किलोमिटर दूरीमा रहेको फार्म अहिले अवलोकनकर्ताका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ।
फार्ममा उत्पादन भएको ट्राउट माछा पोखरा र काठमाडौँसम्मका माछा पारखीहरूकहाँ पुग्ने गरेको तिमिल्सिनाले बताउनुभयो। हाल फार्ममा पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। विसं २०७१ मा सुरु भएको उक्त फार्म सुरुमा अन्य व्यक्तिहरूले सञ्चालन गरेका थिए।
केही वर्षअघि आएको बाढीले फार्म पूर्ण रूपमा क्षति पुगेपछि नजिकैको नयाँ जग्गामा विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्काको संयुक्त लगानीमा पुनः सञ्चालन गरिएको हो। फार्मको व्यवस्थापनको जिम्मेवारी तिमिल्सिनाले सम्हाल्दै आउनुभएको छ।
सञ्चालक तिमिल्सिनाका अनुसार सबै खर्च कटाएर वार्षिक रूपमा एक करोड रुपैयाँभन्दा बढी बचत हुने गरेको छ। हाल रेन्बो ट्राउट माछा प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री हुँदै आएको छ।

