आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह
दाङ, ८ पुस – घोराही उपमहानगरपालिका–१३ मा अवस्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र सहज पहुँचका कारण यहाँ पर्यटकको चहलपहल दिनानुदिन बढ्दै गएको छ ।
दह १२ कुनामा फैलिएको भएकै कारण यसको नाम ‘बाह्रकुने दह’ रहन गएको हो । मनोरम प्राकृतिक दृश्यले सजिएको यो क्षेत्र लुम्बिनी प्रदेशकै नमुना पर्यटकीयस्थलका रूपमा चिनिन थालेको छ । धार्मिक आस्थासँग जोडिएको यस दहमा बाह्र भाइ बराहमध्ये एक भाइ बाह्रकुनेमा बसेको भन्ने किंवदन्ती प्रचलित छ ।
तुलसीपुर उपमहानगरपालिका–१७ की सीता पन्थी साथीहरूसँग वनभोज मनाउन बाह्रकुने दह आइपुग्नुभएको थियो । “घोराहीको बाह्रकुने हेर्ने अवसर यसअघि मिलेको थिएन,” उहाँले भन्नुभयो, “यहाँ आएपछि धेरै रमाइलो लाग्यो । वनभोज, नाचगान र घुमघामका लागि उपयुक्त स्थान रहेछ ।” मन्दिर वरिपरिको वातावरण, तालमा डुङ्गा सयर र माछालाई दाना हाल्दा थप आनन्द मिलेको उहाँको अनुभव छ ।
त्यस्तै, घोराही उपमहानगरपालिका–१८ की मुना पोखरेल शनिबार विद्यार्थीहरू लिएर बाह्रकुने दह पुगेको बताउनुहुन्छ । घोराही बजार नजिकै रहेको र यातायातको सहजताका कारण बिदाको दिन विशेषगरी यहाँ भीडभाड हुने उहाँको भनाइ छ । वनभोज खाने समूहहरूको उपस्थिति उल्लेख्य देखिने गरेको उहाँले बताउनुभयो ।
बराहक्षेत्र संरक्षण समितिका अध्यक्ष देवबहादुर घर्तीका अनुसार बाह्रकुने दहमा वर्षभरि नै भक्तजन आउने गरे पनि मङ्सिरदेखि माघसम्म विशेष भीड लाग्ने गर्छ । “यहाँ विशेषगरी सन्तान प्राप्तिको कामनासहित भक्तजन आउने गर्छन्,” उहाँले भन्नुभयो, “माघेसङ्क्रान्तिको दिन ठूलो मेला लाग्ने गर्दछ ।” सो अवसरमा भेँडा र भालेको बलि दिने तथा परेवा उडाउने परम्परा रहेको छ ।
ज्यामिरे दहमा डुङ्गा सयरको आकर्षण
बाह्रकुने दहको उत्तरतर्फ अवस्थित ज्यामिरे दह विस्तार गरिएपछि त्यहाँ पनि आन्तरिक पर्यटकको आकर्षण बढेको छ । डुङ्गा सञ्चालन गर्दै आउनुभएका वीरजङ्ग पुनका अनुसार बिदाका दिन अन्य दिनभन्दा बढी पर्यटक त्यहाँ पुग्ने गरेका छन् । “जङ्गलबीचको सुन्दर ताल भएकाले जिल्ला भित्र र बाहिरबाट पर्यटक आउने गरेका छन्,” पुनले भन्नुभयो ।
उहाँका अनुसार पछिल्लो समय दैनिक औसत २०० देखि ३०० जनासम्म पर्यटक आउने गरेका छन् । मङ्सिरदेखि वैशाखसम्म यहाँ बढी भीड हुने गरेको छ । पछिल्ला तीन वर्षदेखि डुङ्गा सञ्चालन गर्दै आउनुभएका पुनले यसबाट मासिक रु १५ देखि २० हजारसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।
डुङ्गा सयरका लागि प्रतिव्यक्ति रु १०० शुल्क लिइने गरिएको छ भने १५ देखि २० मिनेटसम्म डुङ्गा घुमाइने व्यवस्था छ । “सानो पोखरीलाई विस्तार गरी डुङ्गा सञ्चालन गर्दा पर्यटक आकर्षित भएका छन्,” उहाँले भन्नुभयो, “ज्यामिरे दह पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै जाँदा स्थानीयको आम्दानीको स्रोत पनि बढेको छ ।”

