ब्वाँसोको आक्रमणले याङ्मामाका पशुपालक पीडित

ताप्लेजुङ, ७ पुस – फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोला स्थित हिमाली बस्ती याङ्मामाका पशुपालक किसान बर्सेनि जङ्गली जनावर ब्वाँसोको आक्रमणबाट पीडित हुँदै आएका छन्। ब्वाँसोको आक्रमणमा याक र चौरी मर्दा उनीहरूले हरेक वर्ष लाखौँ रुपैयाँको क्षति बेहोर्नुपरेको छ। यस वर्ष केही दिनअघि याङ्माकालोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठमा रहेका तीन वटा चौरी ब्वाँसोको आक्रमणबाट मरेका छन्।

अन्य पशुपालकसमेत गरी यस वर्ष हालसम्म नौ वटा चौरी मरेको स्थानीयले बताएका छन्। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार अघिल्लो वर्ष मात्रै यस क्षेत्रमा ३० भन्दा बढी चौपाया ब्वाँसोको आक्रमणमा परेर मरेका थिए। बर्सेनि हुने यस्ता आक्रमणका कारण यहाँका किसानले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको उहाँले बताउनुभयो।

उहाँका अनुसार एउटा चौरीको मूल्य कम्तीमा रु ६० हजार पर्छ भने चीनको तिब्बततर्फ लैजाँदा यसको मूल्य दोब्बरसमेत पर्न जान्छ। यसरी ब्वाँसोको आक्रमणबाट निरन्तर घाटा बेहोर्नुपरे पनि यसको नियन्त्रणतर्फ राज्यले खासै चासो नदिएको स्थानीयवासीको गुनासो छ।

पशुपालक लोप्साङ शेर्पाका अनुसार पशु मरेपछि राहत उपलब्ध गराइए पनि अत्यन्तै न्यून मात्र पाइने गरिएको छ। नौ घरधुरी मात्रै रहेको याङ्मामा बस्तीका बासिन्दाको मुख्य पेसा पशुपालन नै हो। यही पेसाबाट जीविकोपार्जन गर्दै आएका उनीहरूलाई ब्वाँसोको आक्रमणले लामो समयदेखि दुःख दिँदै आएको छ।

विशेषगरी जाडोयाममा ब्वाँसोको हुल नै यस क्षेत्रमा आउने गरेको स्थानीय बताउँछन्। वर्षौँदेखि ब्वाँसोको सास्ती खेप्दै आएका बासिन्दाका अनुसार वर्षातको समयमा भने यो जनावर देखिँदैन। पशुचौपाया मरेका परिवारलाई उचित राहत उपलब्ध गराउन न्यून बजेटका कारण समस्या हुने गरेको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो। “बजेट अत्यन्तै कम भएकाले पशुपालकका समस्या अपेक्षित रूपमा सम्बोधन गर्न सकिएको छैन,” उहाँले भन्नुभयो।

सङ्घ र प्रदेश सरकारले ब्वाँसो नियन्त्रण तथा राहत व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने वडाध्यक्ष शेर्पाको जोड छ। स्थानीयले उक्त ब्वाँसोलाई ‘च्याङु’ भनेर चिन्ने गरेका छन्। पशुपालक लोप्साङ शेर्पाका अनुसार वर्षातको समयमा यो जनावर चीनतर्फ जाने वा अन्यत्र कतै सर्ने गरेको अनुमान भए पनि यकिन तथ्य छैन। हिउँचितुवाजस्तै यस जनावरमा पनि ट्र्याकिङ उपकरण जडान गरी यसको आवागमन र आचरणबारे अध्ययन गर्न सकिएमा समस्या समाधानमा सहयोग पुग्ने वडाध्यक्ष छेतेन शेर्पाले सुझाव दिनुभयो।

Facebook Comments Box