अन्तरराष्ट्रिय पर्वत दिवस आज विश्वभर मनाइँदै
काठमाडौँ, २५ मङ्सिर – हिमनदी पग्लिँदा पहाडी तथा पर्वतीय जीवनमा पर्ने चुनौती, पर्वतीय विकासका अवसर र वातावरणीय संवेदनशीलताबारे जागरण फैलाउने उद्देश्यसहित आज विश्वभर अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष डिसेम्बर ११ मा मनाइँदै आएको यो दिवसमा विभिन्न देशहरूले पर्वतीय समुदाय, वातावरण तथा दिगो विकासका विषयमा विविध कार्यक्रम आयोजना गर्छन्। रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को मुख्यालयमा पनि आज पर्वतीय जीवन, हिमनदी तथा वातावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत गतिविधि हुँदैछन्।
राष्ट्रसङ्घका तथ्यांकअनुसार विश्वका करिब दुई अर्ब मानिस पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन्। तीव्र गतिमा पर्वतीय वातावरण जोखिममा पर्दै जाँदा पानीका स्रोतहरू प्रभावित भएका छन्। विश्व तापक्रम बढ्दै गएसँगै हिमनदीहरू द्रुतगतिमा पग्लिने, र आगामी वर्षहरूमा अरू धेरै हिमनदी हराउने चेतावनी वैज्ञानिकहरूले दिएका छन्।
यसका साथै एक करोड ५० लाखभन्दा बढी मानिस हिमनदी पग्लेर बनेका तालबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमका कारण अत्यधिक संवेदनशील अवस्थामा रहेका छन्। पर्वतीय क्षेत्रमा बढ्दो जोखिमले विश्व समुदायलाई सतर्क गराउँदै, यो दिवसले पर्वत–पहाड संरक्षण, दिगो विकास र सुरक्षित भविष्यका लागि सहकार्य आवश्यक रहेको संदेश दिएको छ।

