नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी

काठमाडौं – नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलकी उम्मदेवार शर्मा निकटतम प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मत अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएकी हुन् ।

शर्माले ४ हजार २८२ मत प्राप्त गरिन् भने र प्रेस युनियनको विद्रोही विष्टले ३ हजार २०३ मत प्राप्त गरे । विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले समर्थन गरेका थिए ।

यसैगरी अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत पाए । महासंघको नयाँ कार्यसमितिमा अधिकांश शर्मा प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलका दीपक आचार्यले ४ हजार २३० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे ।

उपाध्यक्ष महिलामा शर्मा प्यानलकी नितु पण्डितले ४ हजार ७०५ मत प्राप्त गरी विजयी हुँदा विष्ट प्यानलकी गंगा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरिन् ।

उपाध्यक्ष समावेशीमा शर्मा प्यानलका उमिदप्रसाद बागचन्दले ४ हजार २९२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका सुभाषप्रसाद साहले २ हजार ८० मत प्राप्त गरे । यसैगरी मोहन कुमार सिंहले ८६० मत पाए ।

Facebook Comments Box