खोटाङमा सामुदायिक शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय

खोटाङ, २१ मङ्सिर – हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई ‘स्थानीय भत्ता’ उपलब्ध गराउने निर्णय गरेको छ। शनिबार बसेको नगर कार्यपालिकाको बैठकले सरकारले स्वीकृत गरेको कार्यविधिअनुसार यो आर्थिक वर्षदेखि नै स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो।

नगरप्रमुख विमला राईका अनुसार स्थायी, स्वीकृत दरबन्दीमा रहेका अस्थायी तथा करार शिक्षक, प्राविधिक समूहका प्रशिक्षक र सहायक प्रशिक्षकलाई पनि यो भत्ता लागू हुनेछ। निर्णयको उद्देश्य सामुदायिक विद्यालयको गुणस्तर सुधार र शिक्षकको मनोबल वृद्धि गर्ने बताइएको छ।

हलेसी तुवाचुङ नगरपालिका (११ वडा) क्षेत्रमा हाल १२ वटा माध्यमिक, १५ वटा आधारभूत र ५९ वटा प्राथमिक गरी ८६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। बाल विकास कक्षादेखि कक्षा १२ सम्म करिब ५,२०० विद्यार्थी अध्ययनरत यस नगरमा ३०९ जना शिक्षक कार्यरत छन्—माध्यमिक तहमा १४, निम्न माध्यमिकमा २८ र प्राथमिकमा १६० जना। भत्ता लागू भएपछि नगरपालिकाको वार्षिक बजेटमा करिब रु १ करोड ७३ लाख अतिरिक्त भार बढ्ने अनुमान गरिएको छ।

Facebook Comments Box