कमैयाबाट उद्यमीसम्म: केशव डगौराको जीवन परिवर्तनको प्रेरणादायी कथा

कञ्चनपुर, १९ मङ्सिर – शुक्लाफाँटा नगरपालिका–१० झलारीका ५६ वर्षीय केशव डगौरा आज सफल मिल व्यवसायी हुन्। महिनामा रु एक लाखसम्म कमाउने हैसियत बनाइसकेका उहाँसँग बीस वर्षअघि कमैया मुक्तिको घोषणाको बेला भने पुनःस्थापना कार्यक्रममा पाएको चार कट्ठा जग्गाबाहेक केही पनि थिएन।

उहाँको सफलतामागर्ने यो यात्रा साधारण थिएन। बाल्यकालदेखि नै गरिबी, कमैया प्रथा र कठोर श्रमले बाँधिएको जीवन बिताएका डगौराको संघर्ष आज गाउँकै लागि प्रेरणाको स्रोत बनेको छ। “दुःख त धेरै भोगियो, तर मिहिनेत गर्नेको हात ईश्वरले समाइदिन्छ,” उहाँ सम्झिनुहुन्छ।

बुबा वर्षौँ जमिन्दारको घरमा कमैया थिए। आमाको मृत्यु हुँदा डगौरा छ महिनाका मात्र थिए। जमिन्दारकै घरमा हुर्किएका उहाँले १० वर्षको हुँदा गोरु चराउने काम पाए, १५ वर्ष पुग्दा बुबासँगै हलो जोत्न थाले। केही समयमै ‘सौंकी’ लिएर कमैया बस्न बाध्य भए। “घर पनि जमिन्दारकै, बस्ने ठाउँ पनि त्यही, कमैया बस्नुबाहेक अरू विकल्प नै थिएन,” उहाँ भन्दछन्।

कमैयाको दैनिकी अत्यन्त कठोर थियो—बिहानै उठेर हलो जोत्नेदेखि गोरुका लागि घाँस काट्ने, फुर्सदमा भैँसी चराउने। चाडपर्वका दिन पनि काम सकाएपछि मात्र बिदाको अनुभव मिल्थ्यो। “दसैँ–तिहार, माघी सबै दिन काममै बित्थ्यो,” उहाँले सम्झनुभयो।

सरकारले कमैया प्रथा अन्त्यको घोषणा गरेपछि डगौराको जीवन नयाँ दिशातर्फ मोडियो। सरकारले सौंकी मिनाहा गरिदिए पनि “अरूको ऋण बाँकी राख्नु हुँदैन” भन्दै उहाँले लिएको रकम आफैँ फिर्ता गर्नुभयो। २०५८ सालमा पुनःस्थापना अन्तर्गत झलारी नजिकै चार कट्ठा जग्गा पाएर झुपडी बनाउँदै नयाँ सुरुवात गर्नुभयो।

त्यही समयमा गरिबी निवारण कोषले मुक्त कमैयाहरूको समूह बनाउँदै आयमूलक कार्यक्रम चलायो। डगौरा पनि सोही समूहमा जोडिनुभयो। पहिलोपटक समूहबाट रु १० हजार ऋण लिएर चारवटा बङ्गुरका पाठा ल्याएर व्यवसाय सुरु गरे—तर चुनौतिहरू बाक्लिँदै गए।

खानका लागि अन्न नभएको अवस्थामा केही दिन मजदुरी गरेर बङ्गुरलाई चारो जुटाउनुपर्यो। त्यसकै बीच दुई बिघा जग्गा अधिया लिएर खेती गर्न पाउनुभयो। त्यहाँबाट आएको अन्नले घरसंवाहार मात्र होइन, बङ्गुरका लागि पनि चारो पुग्यो। आम्दानी बढ्दै गयो र ऋण पनि फिर्ता गर्न सकियो।

समूहबाट दोस्रोपटक रु ५० हजार ऋण लिएर कुटानी–पिसानी मिल खोल्ने निर्णय भयो। त्यतिबेला झलारीमा विद्युत् नभएकाले मिल डिजेल इन्जिनले चलाउनु पर्‍यो। चार वर्षमै मिल चलायमान बन्दै ग्राहक बढ्न थाले। नाफा बढेपछि डगौराले आधुनिक मेसिन जडान गर्न रु १ लाख ५० हजार कर्जा लिए। झलारीमा विद्युत् पुगेपछि रु २० हजार तिरेर मिटर जडान गराई मिल डिजेलबाट विद्युत्मा रूपान्तरित भयो।

आज मिलमा झन्डै रु ७ लाखभन्दा बढी लगानी भइसकेको छ। दुई सेलर, दुई स्पेलर, दुई चक्कीसहित मिलले ठूलो परिमाणमा सेवा दिइरहेको छ। “खर्च कटाएर महिनामा रु ५० हजार जति बचत हुन्छ, सिजनमा त एक लाखभन्दा बढी नै कमाइ हुन्छ,” उहाँ भन्दछन्। खलि र ब्रानजस्ता वाइ–प्रोडक्ट बेचेर थप आम्दानी पनि हुने गरेको छ।

पहिले झुपडीमा बस्ने डगौरा अहिले छ कोठे पक्की घरमा बस्छन्। मिलसमेत पक्की संरचनामा विस्तार हुँदैछ। सात सन्तान—पाँच छोरी र दुई छोरा—सबै निजी विद्यालयमा पढिरहेका छन्। मेसिन मर्मतदेखि गहुँ–धान प्रशोधनसम्म सबै सीप उहाँ आफैँले सिक्नुभएको छ। श्रीमती भागरथी चौधरी पनि मिलमै साथ दिनुहुन्छ।

“पहिले के खाने, कहाँ बस्ने, के लगाउने भन्ने चिन्ता थियो,” भागरथी भन्दछन्, “अब कमाइले जीवन सहज भएको छ। छोराछोरी पढेर राम्रो मानिस बनेको देख्न मात्रै चाहन्छौँ।” डगौराले कुखुरा, हाँस र बङ्गुरपालनलाई पनि निरन्तरता दिनुभएको छ। कहिल्यै कमैयाको कठोर जीवनमा बाँधिएका उनीहरू अहिले मिहिनेत, अनुशासन र सही निर्णयले आत्मनिर्भर बनेका छन्।

डगौरा दम्पतीको गुनासो छ—“गरिबका बालबालिकालाई छात्रवृत्ति दिने भनाइ त सुनिन्छ, तर व्यवहारमा पाएका छैनौँ। सुविधा पाएको भए हाम्रा छोराछोरी पनि डाक्टर, इन्जिनियर, पाइलट बन्न सक्थे होला।” केशव डगौराको जीवनकथा भन्छ—कठिनाइ अन्त्य हुँदैन, तर मिहिनेत, धैर्य र योजनाले जीवनको दिशा बदल्न सकिन्छ।

Facebook Comments Box