श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ
सुनसरी, १७ मंसिर – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आगामी चुनावमा आफ्नो पार्टीले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट पार्नुभएको छ।
बराहक्षेत्रको चक्रघट्टीमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा नै चुनावी प्रतिस्पर्धामा उत्रिने बताए।
“हामी कसैसँग गठबन्धन गरेर होइन, आफ्नै बल र विश्वासको आधारमा चुनाव लड्छौँ,” साम्पाङले भने, “नेपालमा कुनै पनि राजनीतिक दल ‘चोखो र जनउत्तरदायी’ छैन।”
देश जाति, धर्म र वर्गका आधारमा विभाजित भइरहेका बेला श्रम संस्कृति पार्टीले सामाजिक एकता र श्रमको सम्मानमा आधारित राजनीतिक संस्कृतिको विकासलाई प्राथमिकता दिने उहाँको भनाइ थियो।
अध्यक्ष साम्पाङका अनुसार श्रम संस्कृति पार्टीले हाल देशभर संगठन विस्तारलाई आक्रामक रूपमा अघि बढाइरहेको छ। “जेनजी आन्दोलनपछि ठूला भनिने दलहरू ‘पर्ख र हेर’को अवस्थामा रहेका बेला श्रम संस्कृति पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको छ,” उनले भने, “जनताको बढ्दो विश्वास र समर्थनले हाम्रो दल अब राष्ट्रिय विकल्पका रूपमा स्थापित हुँदैछ।”

