विज्ञान तथा सूचना प्रविधि प्रदर्शनीमा ग्लाडस्टोन एकेडेमी पहिलो
भक्तपुर, १३ मंसिर – मिड–भ्याली माध्यमिक विद्यालय कलेज भक्तपुरद्वारा आयोजित दुईदिने अन्तरविद्यालयीय ‘विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२’ सम्पन्न भएको छ। प्रदर्शनीमा थिमिको ग्लाडस्टोन एकेडेमीले प्रथम स्थान हासिल गर्दै रु ३० हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको कार्यक्रमका निर्देशक कमल अर्यालले जानकारी दिए।
संस्कार गुरुकुल स्कुलले दोस्रो स्थान हासिल गर्दै रु २० हजार नगदसहित ट्रफी र मेडल पायो भने नेपाल पुलिस स्कुले तेस्रो हुँदै रु १० हजार नगद, ट्रफी र मेडल प्राप्त गर्यो। सहभागी विद्यार्थीले भोट गरेको आधारमा ‘बेस्ट डिस्प्ले’ को रूपमा एभरेष्ट इङ्लिस स्कुलले रु ५ हजार नगद र ट्रफी–मेडल हासिल गरेको छ। उपकरण तथा सामग्री निर्माणमा सहभागिता जनाउने ६७ विद्यालयलाई आयोजक संस्थाले जनही रु ६ हजारका दरले नगद प्रदान गरेको कलेजले जनाएको छ।
प्रदर्शनीमा उपत्यकाका ६७ विद्यालयका विद्यार्थीले तयार पारेका ९३ प्रकारका वैज्ञानिक तथा प्रविधिमूलक मोडल र सामग्री प्रदर्शित गरिएका थिए। स्मार्ट सिटी, स्मार्ट होम, वाटर सिस्टम, जलप्रदूषण नियन्त्रण, सौर्य ऊर्जा, स्वास्थ्य प्रविधि, भवन निर्माणलगायतका नवप्रवर्तनशील परियोजनाले विद्यार्थीको आकर्षण तानेका थिए। दुई दिनसम्म सञ्चालन भएको प्रदर्शनीलाई १० हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए।

