महानगरलाई धुलोमुक्त बनाउँदै कामपा
काठमाडौँ, २५ कात्तिक – काठमाडौँ महानगरपालिकाले ‘गौरवको योजना’ अन्तर्गत सहरलाई धुलोमुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ।
महानगरको धुलोरहित सडक कार्यक्रम अन्तर्गत पछिल्लो समय बिग्रिएका सडक मर्मत, ढल सुधार, खाल्टाखुल्टी माटो भराई, कालोपत्रे र ढलानका काम धमाधम भइरहेको कामपा पश्चिम क्षेत्रका फोकल पर्सन तथा वरिष्ठ इञ्जिनियर माधव काफ्लेले जानकारी दिनुभयो।
उहाँका अनुसार, वडाबाट प्राप्त मागका आधारमा अगाडि बढाइने यस योजनाअन्तर्गत पश्चिम क्षेत्रमा करिब ८ किलोमिटर सडक सुधार कार्य सुरु गरिएको छ।
लामो समयदेखि स्वामित्व विवादमा परेको बालाजु बाइपासदेखि बालाजु उद्यान हुँदै बालाजु चोकसम्मको करिब १,१६० मिटर सडक पनि कालोपत्रे हुने भएको छ।
स्थानीय बासिन्दाले आफ्नो नामको जग्गा सडकमा परेको दाबी गर्दै आएका यस सडक खण्डमा गत महिनामै १९० मिटर सडक कालोपत्रे गरिएको थियो। सडकको चौडाइ ९ देखि १४ मिटर सम्म रहेको काफ्लेले बताउनुभयो।
बालाजु सडकसँगै विष्णुमती कोरिडोर अन्तर्गत वडा नं. १३, १४, १५ र १६ क्षेत्र, कुलेश्वर–टेकु सडक, भगवती मन्दिर–कुमारी क्लब, कुलेश्वर लिङ्कमार्ग, शितला स्कुल–नागरिक बजार चोक (जामाचो मार्ग), सोह्रखुट्टे–पकनाजोल, चाक्सीबारी–जेपी चोक, कुलेश्वर–फलफूल बजार, बालाजु हाइट–नागार्जुन पर्खाल, शितला मार्ग–पहिरा लिङ्कमार्ग, उमा महेश्वर मार्ग, रविभवन मार्ग र बल्खु सर्भिस ट्र्याक लगायतका सडकमा पनि सुधार कार्य सुरु हुने भएको छ।
कामपाको ‘धुलोरहित सडक कार्यक्रम’ तीन वर्षे बहुवर्षीय योजना हो। यसका लागि हरेक वर्ष करिब एक अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सहरका सडक सुधारलाई व्यवस्थित बनाउन कामपाले आफ्नो भौगोलिक क्षेत्रलाई चार भागमा विभाजन गरेको छ।
-
पूर्व क्षेत्र — वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२
-
पश्चिम क्षेत्र — वडा नं. १३, १४, १५ र १६
-
उत्तर क्षेत्र — वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३०
-
मध्य क्षेत्र — वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७
मध्य क्षेत्रका सुधार कार्यका लागि मात्र करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।

