झापामा रगत अभाव, रक्तदानका लागि रेडक्रसको अपिल
झापा, १० कात्तिक – नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगत अभाव भएको जनाएको छ। हाल जिल्लाका छवटै रक्तसञ्चार केन्द्रमा जम्मा २०० पिन्ट मात्र रगत मौज्दात रहेकाले व्यक्तिहरू तथा सङ्घ–संस्थालाई रक्तदान गरेर सहयोग गर्न आग्रह गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार लगातार भएका चाडपर्व र विपद्का कारण रक्तदान कार्यक्रम सञ्चालन हुन नसक्दा रगत अभाव भएको हो।
“रक्तसञ्चार केन्द्रमा मौज्दात रगत दुई दिनका लागि मात्र पर्याप्त छ। तर अस्पतालमा मिर्गौला डायलाइसिस लगायतका बिरामीका लागि दैनिक करिब १०० पिन्ट रगत आवश्यक पर्छ,” अध्यक्ष ढकालले बताउनुभयो।
“त्यसैले अहिलेको अवस्थामा सबै योग्य व्यक्तिले रगत दान गरेर सहयोग गर्न जरुरी छ,” उहाँले जोड दिनुभयो। ढकालका अनुसार दसैँ, तिहार, छठ लगायतका चाडपर्व र असोज १८ देखि २० गतेसम्म परेको वर्षा तथा विपद्का कारण जिल्लामा रक्तसञ्चयमा कमी आएको हो।
उहाँले १८ वर्षमाथिका रक्तदान गर्न योग्य व्यक्तिहरूलाई नजिकैको रक्तसञ्चार केन्द्रमा गएर स्वस्फूर्त रक्तदान गर्न अपिल गर्नुभयो। “रगत माग्ने मात्रै होइन, आफैं दान गर्ने संस्कार बढाऔं,” उहाँले भन्नुभयो, “रगत लिन जाँदा जुनसुकै रक्त समूहका बिरामीका लागि पनि दुई–तीन जना दाता साथमा लैजाऔं।”
झापा रेडक्रसले हालसम्म विभिन्न रक्त समूहका हजारौँ दाताको सम्पर्क नम्बर संकलन गरेको जनाएको छ। आवश्यकता परेमा ती दातासँग प्रत्यक्ष सम्पर्क गरेर पनि रगत उपलब्ध गराउने व्यवस्था रहेको अध्यक्ष ढकालले बताउनुभयो।
उहाँका अनुसार हालै ‘जेनजी’ प्रदर्शनका क्रममा करिब १,५०० पिन्ट रगत काठमाडौं पठाइएको थियो, जसका कारण पनि जिल्लामा रगत मौज्दात घटेको हो।

