ग्यास बुलेट गाडीको ठक्करबाट श्रीमान्को मृत्यु, श्रीमती र छोरा घाइते
बागमती, १० कात्तिक – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ लच्कास्थित सडक खण्डमा आज बिहान ग्यास बुलेट गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन्।
चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो।
ठक्करबाट सिन्धुपालचोक जिल्ला, चौतारा नगरपालिका–५ निवासी ३० वर्षीय केदार श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो। उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा मृतकका श्रीमती २८ वर्षीया सरस्वती श्रेष्ठ र दुई वर्षीय छोरा प्रवीण श्रेष्ठ घाइते भएका छन्। दुवैको एलाइभ अस्पताल, चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ठक्कर दिने ग्यास बुलेटसहित चालक, भारतको विहार निवासी ५५ वर्षीय मोहम्मद मतिनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

