मिथिलामा सामाचकेवा पर्व सुरु
महोत्तरी, १० कात्तिक – महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि सामाचकेवा पर्व सुरु भएको छ। दाजुभाइप्रतिको ममता र आपसी स्नेह व्यक्त गर्ने यो पर्व मिथिलानी (मिथिलाकी नारी)ले आइतबार रातिदेखि मनाउन थालेका हुन्।
छठको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमी का दिनदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमासम्म—जम्मा ११ दिन—अवधि मनाइन्छ। मिथिलानीहरूले आफ्ना दाजुभाइको सौर्य, पराक्रम र उपकारी गुणको गाथा गाउँँदै आपसी प्रेम र पारिवारिक सम्बन्ध सुदृढ बनाउने कामना गर्छन्। स्थानीय भाषामा यो पर्वलाई ‘सामाखेल’ पनि भनिन्छ।
रातको निस्तब्धतामा सुरिलो स्वरमा गाइने गीतमा दाजुभाइका वीरता, माया र सहानुभूतिको भाव झल्किन्छ। यस पर्वमा माटो मुछेर बनाइएका सामा, चकेवा, वृन्दावन, सप्तर्षि, पक्षी र चुगला (कुरा लाउने पात्र) का प्रतिमा विभिन्न रङले रङ्गाइन्छन्। मिथिलानीहरूले यी प्रतिमासँग गीत गाउँँदै खेल्ने परम्परा छ।
खेलको क्रममा “चुगला” पात्रलाई वृन्दावनभित्र आगो सल्किएको कुचोले झोस्ने चलन छ—यो गलत आरोप र चुगलीको प्रतीकात्मक दण्ड मानिन्छ।
पर्वको अन्तिम दिन कात्तिक पूर्णिमामा दाजुभाइले ती प्रतिमालाई घुँडामाथि राखेर फुटाउने र वनमा सेलाउने परम्परा रहिआएको छ। त्यसपछि नयाँ धानको चिउरा र सख्खर दिदीबहिनीलाई अर्पण गरिन्छ र दाजुभाइले दक्षिणा तथा वस्त्र–आभूषण दिएपछि पर्व सम्पन्न हुन्छ।
पौराणिक कथाअनुसार, द्वापर युगमा श्रीकृष्णकी छोरी सामा र सेनानायक चक्रधर (चकेवा)बीचको प्रेमसम्बन्धबारे एक चुगलाले कृष्णलाई गलत जानकारी दिएपछि, रिसमा कृष्णले उनीहरूलाई चरा हुने श्राप दिएका थिए।
पछि कृष्णका पुत्र साम्बले शिवजीको आराधना गरी उनीहरूलाई श्रापमुक्त गराए। त्यसैको सम्झनामा दिदीबहिनीले दाजुभाइप्रतिको कृतज्ञता व्यक्त गर्न सामाचकेवा पर्व मनाउने परम्परा बसालिएको विश्वास छ।
मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्णका अनुसार, यो पर्व केवल धार्मिक संस्कार नभई दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता र सामाजिक सह–अस्तित्वको प्रतीक पनि हो।

