तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छः उपराष्ट्रपति
काठमाडौँ, २ कात्तिक — उपराष्ट्रपति रामसहाय प्रसाद यादवले तिहार पर्वले नेपालको ‘विविधतामा एकता’को भावना झल्काउँदै विभिन्न क्षेत्र, वर्ग र समुदायबीचको परस्पर विश्वास, सद्भाव र भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।
आस्था र उल्लासको पर्व तिहार (शुभ दीपावली) २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना दिँदै उहाँले सबैमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको कामना गर्नुभएको छ।
उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भन्नुभएको छ, “शुभ दीपावलीले हाम्रो मन, वचन र कर्ममा पवित्रता ल्याओस्, सम्पूर्ण नेपाली एकताबद्ध भई राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता र राष्ट्रियतालाई अझ सुदृढ बनाउन यस पर्वले प्रेरणा दिओस्।”
उहाँका अनुसार तिहारको उज्यालोले मनमा रहेका रिस, राग, वैमनस्यता र द्वेषलाई मेट्दै मेलमिलाप, आपसी सद्भाव र खुशीयालीको वातावरण निर्माण गर्न सहयोग पुर्याउँछ। सन्देशमा पाँच दिनसम्म मनाइने यो पर्वले सामूहिकता, आपसी एकता र सहअस्तित्वको भावनाबाट सुदृढ समाज निर्माण गर्ने प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरिएको छ।

