व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी
भोजपुर, २ कात्तिक – हतुवागढी गाउँपालिका–५ होम्ताङका ७१ वर्षीय सकतबहादुर राईले बुढ्यौली उमेरमा पनि एभोकाडोको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ। करिब २० रोपनी क्षेत्रफलमा गरिएको एभोकाडोखेतीले उहाँलाई आत्मनिर्भर बनाएको छ।
बाँझो जमिनको सदुपयोग गर्दै कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित राईले खेती विस्तार गर्नुभएको हो। उहाँले भन्नुभयो, “व्यावसायिक रूपमा एभोकाडोखेती गरिरहेको छु। बाँझो जमिन प्रयोगमा ल्याउने लक्ष्यले खेतीमा लागेको हुँ। एभोकाडो बिक्रीबाट घरखर्च चलाएर केही पैसा पनि बचत हुन्छ।”
राईका अनुसार, आगामी वर्षहरूमा खेती विस्तार गरेर वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य छ। उहाँले उत्पादन गरेको एभोकाडो स्थानीय बजारसँगै काठमाडौँ, विराटनगर, धरान, इटहरीलगायत ठूला सहरहरूमा बिक्री हुने गरेको छ। कृषिबाट दीर्घकालीन आम्दानी लिन सकिने विश्वासका साथ उहाँले बहुवर्षीय बालीको विस्तारमा जोड दिनुभएको छ। “एभोकाडो बिरुवालाई राम्रोसँग हुर्काएमा सामान्य हेरचाहले नै वर्षौँसम्म आम्दानी लिन सकिन्छ,” उहाँले बताउनुभयो।
हाल स्थानीय तह तथा राज्यका अन्य निकायबाट आवश्यक सहयोग पाउन थालेपछि भोजपुरमा व्यावसायिक कृषिमा लाग्ने किसानहरूको संख्या बढ्दै गएको छ। यद्यपि ग्रामीण भेगमा यातायात र बजार पहुँच अभावका कारण उत्पादित वस्तुको बजारीकरणमा कठिनाइ हुने किसानहरूको भनाइ छ। किसानहरूले उत्पादनको मूल्य सुनिश्चितता र बजार व्यवस्थापनमा राज्यले ध्यान दिए अझ सहज हुने बताएका छन्।

