भारतको राजधानी दिल्लीमा पनि कोरोनाको सबभेरिएन्ट ‘जेएन.१’ फेला

काठमाडौं, १२ पुस – भारतको राजधानी दिल्लीमा पनि कोरोनाको सबभेरिएन्ट ‘जेएन.१’ फेला परेको छ। समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै दिल्लीमा पहिलोपटक बुधबार जेएन.१ भेरिएन्ट फेला परेको जानकारी दिएको हो।

दिल्लीका स्वास्थ्य मन्त्री सौरभ भारद्वाजले एएनआईलाई जिनोम सिक्वेन्सिङका लागि पठाइएका तीन नमुनामध्ये एउटामा कोरोनाको सब–भेरिएन्ट जेएन.१ र अन्य दुईमा ओमिक्रोन देखिएको जानकारी दिएका छन्। मन्त्री भारद्वाजले संक्रमण दर हाल १ प्रतिशत मात्र रहेको बताए।

साथै उनले यो सब–भेरियन्ट खतरनाक नभएको दाबी पनि गरे। योसँगै दिल्लीमा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ। संक्रमितमध्ये २८ वर्षीय पुरुषको मृत्यु पनि भएको बीबीसी हिन्दीले जनाएको छ। तर, अधिकारीले उक्त व्यक्तिको मृत्युको मुख्य कारण कोरोना नभएको दाबी गरेका छन्।

उनलाई अरू धेरै रोग थिए। यसैबीच भारतमा बुधबार थप ५२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितको संख्या ४ हजार ९३ पुगेको छ।

Facebook Comments Box