पर्यटकलाई पदयात्रामा नजान प्रशासनको आग्रह

कास्की, १८ असोज – जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पर्यटकलाई पदयात्रामा नजान आग्रह गरेको छ।

प्रशासनले आजदेखि असोज २० गतेसम्म देशभरसहित गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको पूर्वानुमान गरिएको र यस अवधिमा हिमपातको जोखिम बढ्ने भएकाले सो सूचना सार्वजनिक गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार अन्नपूर्ण आधार शिविर (एबीसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदमार्ग र खुमई लगायतका पदयात्रा क्षेत्रमा यात्रु नजान आग्रह गरिएको छ। उनले भने, “जीउज्यानको सुरक्षालाई ध्यानमा राखी कुनै पनि पदमार्गमा पदयात्रा नगर्न हामीले सार्वजनिक आग्रह गरेका हौँ।”

दसैँ बिदाका कारण विगतमा यी पदमार्गहरूमा यात्रुहरूको भीड हुने गरेकोमा यस वर्ष भने वर्षा र हिमपातको चेतावनीले पर्यटन व्यवसाय प्रभावित भएको छ। सामान्यतया यस समयमा होटल तथा रेष्टुराँहरू पर्यटकले भरिने गरे पनि यसपटक स्थिति भिन्न देखिएको छ।

त्यसैगरी प्रशासनले वर्षाका कारण बाढी, पहिरो, डुबान र हिमपात जस्ता विपद्को सम्भावना रहेकाले सबैलाई सतर्क रहन र कुनै घटना घटेमा स्थानीय तह, जनप्रतिनिधि, प्रहरी वा सुरक्षाकर्मीलाई तुरुन्त जानकारी दिन आग्रह गरेको छ।

Facebook Comments Box