महिला सहकारीमार्फत ३५० खसीबोका बिक्री

नवलपरासी सु पू, १५ असोज — नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासस्थित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत यस वर्ष दसैँको अवसरमा ३५० वटा खसीबोका बिक्री गरिएको छ।

गाउँपालिकाका किसानले उत्पादन गरेका खसीबोका संकलन गरी सहकारीले असोज ६ गतेदेखि बिक्री सुरु गरेको थियो। हालसम्म प्रतिकिलो ज्युँदो सरदर ५७० रुपैयाँसम्ममा ३५० खसीबोका बिक्री भएको संस्थाकी व्यवस्थापक सुशीला परियारले जानकारी दिनुभयो।

सहकारीमार्फत वर्षभरि नै खसीबोका संकलन तथा बिक्री भए पनि चाडपर्वमा माग बढ्ने भएकाले बढी मात्रामा कारोबार हुने गरेको छ। गत वर्षको दसैँमा १५ सय खसीबोका बिक्री भई करिब दुई करोड ५० लाख बराबरको कारोबार भएको भए पनि यस वर्ष सो स्तरमा बिक्री हुन नसकेको परियारले बताउनुभयो। उहाँका अनुसार, दसैँपछि पनि बजारमा माग हुने भएकाले कारोबार अझै बढ्ने अपेक्षा गरिएको छ।

बाख्रापालन गरेका किसानलाई बजारसम्म सहज पहुँच दिलाउन सहकारीले ११ वर्षदेखि संकलन केन्द्रमार्फत बजार व्यवस्थापन गर्दै आएको छ। यसबाट बिचौलियाबाट ठगिने समस्या हट्नुका साथै किसानले उचित मूल्य पाउने भएकाले उनीहरू खुसी भएको किसान शर्मिला विश्वकर्माले बताउनुभयो।

सहकारीमार्फत शेयर सदस्य मात्र नभई अन्य कृषकका खसीबोका पनि खरिद गर्ने गरिएको छ। ठूला व्यापारीदेखि स्थानीय उपभोक्तासम्म खसीबोका लिन सहकारीमा आउने गरेका छन्।

हुप्सेकोट क्षेत्रमा बाख्रापालन गर्नेको संख्या उल्लेख्य रहेकाले यहाँबाट बर्सेनि सयौँ खसीबोका काठमाडौं, पोखरा लगायतका सहरमा निर्यात हुने गरेको छ। यस्तै, बाख्रापालनमार्फत आय आर्जन गर्ने कतिपय महिलाले विदेश गएका श्रीमान्लाई भन्दा बढी आम्दानी गर्ने गरेको स्थानीयले बताएका छन्।

Facebook Comments Box