वायुसेवा निगमद्वारा ग्वाञ्जाओ उडान सुरु
काठमाडौँ, १२ भदौ – नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ। शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ नियमित उडान सञ्चालनमा आएको निगमले जनाएको छ।
असोज ९ गते उद्घाटन गर्ने योजना भए पनि प्राविधिक कारणले स्थगित उडान शनिबार मात्र सम्पन्न भयो। उद्घाटन उडानमार्फत काठमाडौँबाट ग्वाञ्जाओ पुगेको जहाज आइतबार बिहान १०७ यात्रु लिएर फर्किएको निगमका प्रवक्ता मनोजकुमार साहले जानकारी दिए।
निगमले ग्वाञ्जाओमा हरेक हप्ता तीन उडान गर्ने तालिका सार्वजनिक गरेको छ। असोज १२, असोज ३०, कात्तिक २ र ६ गते विशेष उडान भएपछि प्रत्येक आइतबार, मङ्गलबार र शनिबार नियमित उडान हुनेछ। भाडादर एकतर्फी रु ३० हजार र दोहोरो टिकट रु ५० हजार तोकिएको छ।
हाल ग्वाञ्जाओ गन्तव्यमा चीनको चाइना साउदर्न एयरलाइन्स र नेपालबाट हिमालय एयरलाइन्सले पनि उडान भर्दै आएका छन्। नेपाली समुदाय बाक्लो रहेको यो शहरमा निगमको नयाँ उडान आर्थिक रूपमा लाभदायक हुने अपेक्षा गरिएको छ।
निगमसँगका दुईवटा न्यारोबडी र दुईवटा वाइडबडीमार्फत हाल कतार, मलेसिया, दुबई, हङकङ, भारत, थाइल्याण्ड, साउदी अरब र जापानसहित नौ देशका ११ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ।

