फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

काठमाडौँ, १० असोज — सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीलाई १० दिनभित्र स्वेच्छाले कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ ।

गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार फरार कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा फिर्ता ल्याउन विशेष अभियान सुरु गरिएको हो।

मन्त्रालयले यस उद्देश्यका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकाय र सम्बन्धित सरकारी निकायका प्रतिनिधि रहने गरी ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको छ ।

कार्यदललाई जिल्लाका सबै सुरक्षा निकाय, स्थानीय तह र सञ्चारमाध्यमसँग समन्वय गर्दै खोजी अभियानलाई सघन बनाउन आदेश दिइएको छ।

कारागार व्यवस्थापन विभागका अनुसार फरार कैदीबन्दीलाई असोज २० गतेसम्म कारागार फर्किन आग्रह गरिएको छ । सो समयसीमा भित्र नफर्किए कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

जेनजी प्रदर्शनका क्रममा २८ कारागार र नौ बाल सुधारगृहबाट १४ हजार ५५३ कैदीबन्दी र बालबन्दी फरार भएका थिए। हालसम्म ८ हजार १९९ जना फर्किसकेका छन् भने ६ हजार ३५४ अझै फरार रहेको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए।

७२ जिल्लामा ७५ कारागार छन् भने धनुषा, बारा, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र पूर्वी रुकुममा कारागार छैन। कार्यदलले फरार कैदीबन्दीको नामावली विद्यालय, क्याम्पस, बसपार्क, सार्वजनिक स्थल र सीमानाकामा पठाई निगरानी र खोजतलासलाई तीव्र बनाउनेछ।

साथै, फरार कैदीबन्दीलाई आश्रय दिने, लुकाउने वा सहयोग गर्ने व्यक्तिमाथि पनि कानुनी कारबाही गरिने चेतावनी दिइएको छ। गृह मन्त्रालयले दैनिक अभिलेख अद्यावधिक गर्न, खोजीको प्रगति प्रतिवेदन पठाउन र मन्त्रालय, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र अन्य सम्बन्धित निकायलाई विवरण उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएको छ।

सरकारले क्षतिग्रस्त कारागारको मर्मत, स्थिति सामान्य बनाउन र फरार कैदीबन्दीलाई कारागार फर्काउने कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

Facebook Comments Box