आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाडौँ,  १७ माघ – आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सअन्तर्गत बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ। नेपालले पहिले ब्याटिङ गर्दै दिएको १ सय ७० रनको सामान्य लक्ष्य बंगलादेशले ५ विकेट गुमाउँदै २६ औँ ओभरको दोस्रो बलमा भेट्टायो।

दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले बंगलादेशलाई १ बलअगावै १ सय ६९ रनको चुनौती दिएको थियो।

त्यसलाई पछ्याउने क्रममा बंगलादेशका लागि अरिफुल इस्लाम र जिसम आलमले अर्धशतकीय पारी खेले। इस्लामले ५९ रनको योगदान दिँदा आलमले ५५ रन बनाए।

त्यसैगरी अन्य ब्याटरले गतिलो स्कोर गर्न सकेनन्। उता नेपालका लागि सुवास भण्डारी एक्लैले प्रभावशाली प्रदर्शन गर्दै ५ विकेट झार्न सफल भए। उनले अशिक्वार रहमान शिविललाई पहिलो विकेटका रुपमा गुलशन झाको हातबाट क्याच आउट गराए।

रहमान ३४ बलमा १६ रन बनाएको अवस्थामा पवेलियन फर्किए। त्यस्तै सुवासले नै तेस्रो क्रमका छ्वाधुर रिजवानलाई ११ बलमा १५ रन बनाएको अवस्थामा विपिन रावलबाट आउट गराउन सफल भए।

सुवासकै बलमा कप्तान देव खनालले बंगलादेशका अर्का ओपनर जिसम आलमलाई आउट गराए। आलमले ४३ बलमा ५५ रनसहितको अर्धशतकीय पारी खेलेका थिए।

त्यसपछि सुवासले नै अहर अमिनलाई बोल्ड आउट गरिदिए। उनी केवल १२ रन बनाएको अवस्थामा आउट हुन पुगे। सुवासले नै खेलको २३ औँ ओभरको दोस्रो बलमा मोहम्मद शाहिहाब जेम्सलाई कप्तान देव खनालले क्याच गरे।

सुपर सिक्सको खेलअघि नै सेमिफाइनलबाट बाहिरिसकेको नेपाल बंगलादेशसामु खुलेर खेल्न सकेन। कसिलो बलिङ गरेका बंगलादेशका बलरसामु नेपालका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।

नेपालका ५ ब्याटर क्याच आउट भए। दुई ब्याटर भने बोल्ड आउट भए। नेपालका लागि विशाल विक्रम केसीले १ सय बलमा ६ चौका मद्दतमा सर्वाधिक ४८ रन बनाए।

संकटबीच अर्धशतकनजिक पुगेका विशाल ४३ औँ ओभरको अन्तिम बलमा रोहनत डौल्लाह बोसेनको बलमा बोल्ड आउट भए। बंगालदेशका बलरसामु शीर्ष क्रमका ब्याटरहरु क्रिजमा टिक्न नसक्दा नेपालले पावर प्ले मा नै ३ विकेट गुमाएको थियो।

नेपाल एक समय ८.३ ओभरमा ३–२९ को दयनिय अवस्थामा थियो। चौथो विकेटका लागि कप्तान देव र विशाल विक्रम केसीले ६२ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासे। यद्यपी मध्य क्रमका ब्याटरले पनि नेपालको इनिङस् लामो समय सम्हाल्न सकेनन्।

कप्तान देव खनाल ३५ रन बनाउँदै क्याच आउट भए। ६० बलको सामना गरेका देवले ३ चौका प्रहार गरे। लामो सट खेल्ने धुनमा रहेका देव इलबाल हुसैनको बलका क्याच आउट भए।

ओपनर अर्जुन कुमालले १४ रन थपे। २६ बलमा २ चौका हानेका अर्जुन रोहनतकै बलमा क्याच आउट भए। सुवास भण्डारी १८ रनमा अविजित रहे। दुर्गेस गुप्ता ९ रनमा क्याच आउट भए।

अन्तिम विकेटका लागि सुवास दुर्गेसले २७ रनको साझेदारी गर्दै सम्मानजनक योगफल तयार पार्न सहयोग गरे। नेपालका सात ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

अलराउण्डर गुल्सन झा ३ रन बनाउँदै आउट भए। सिनियर टोलीमा फिनिसरको छवी बनाएका गुल्सन उमेर समुहमा भने चल्न सकेका छैनन्। मुख्य प्रशिक्षक जगत टमाटाले पनि उनलाई बेन्चमा राख्ने चुनौती लिने आँट गरेका छैनन्।

१३ बलमा ३ रन बनाएका आकाश आकाश त्रिपाठी इलबाल हुसैन एमोनको बलमा महफुजुर रहमान रब्बीको हातबाट क्याच आउट भए। १२ बलमा २ रन बनाएका ओपनर विपिन रावल चौथो ओभरको पाचौँ बलमा मृदाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट क्याच आउट भए।

गुल्सन, आकाश, दिपक बोहोरा र दिपेश कँडेलले समान ३ रन बनाए। आकाश चन्द पहिलो बलमा नै एलबीडब्लु धरापमा परे। बंगलादेशका लागि रोहनतले चार विकेट लिए।

शेख जिवोनले ३ विकेट लिए। शेखले आफ्नो स्पेलमा २ मेडन राख्दै ३४ रन दिए। इकवाल, मरुफ र जिसानले समान एक विकेट आफ्नो नाममा गरे। अब आईसीसी विश्वकपको सुपर सिक्सअन्तर्गत नेपालले यही शुक्रबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ।

नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगे पनि सेमिफाइनल यात्रा यसअघि नै सकिएको छ।न छ ।

Facebook Comments Box