अरिङ्गालको परिकार बेनीमा लोकप्रिय, माग धान्नै हम्मे

म्याग्दी, ७ भदौ

म्याग्दीको बेनी बजारमा अरिङ्गालको परिकार पर्यटक र पाहुनाको पहिलो रोजाइ बन्दै गएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई अरिङ्गालको बढ्दो माग धान्न मुस्किल पर्न थालेको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष ललिन्द्र थापाका अनुसार बर्खा याममा बेनी आउने पाहुनाले अरिङ्गाललाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् ।

“स्थानीय मात्र होइन, छिमेकी जिल्लाबाट पनि पाहुनाहरू अरिङ्गालको स्वाद लिन आउँछन्,” थापाले बताए, “स्वादिलो र तागतिलो भएकाले यसको उपभोग बढ्दो छ।” उनको होटलमा मात्रै दैनिक १०–२० प्लेट अरिङ्गाल बिक्री हुने गरेको छ । प्रतिप्लेट फ्राई अरिङ्गालको मूल्य रु ६०० देखि ७५० पर्छ । शिकारीहरूले अग्ला रुख चढेर लार्भासहितको गोला निकालेर होटलमा बिक्री गर्ने गर्छन् । उपभोक्ताको अनुभवमा फ्राई गरिएको अरिङ्गालको लार्भा शक्तिवर्धक मानिन्छ ।

खबरा, लामाखेत, अर्थुङ्गे, जामुनाखर्क, बैसरी, माझखर्क र रिसिनचौतारीका युवाले गोला संकलन गरी बेनी ल्याउँछन् भने सिङ्गा, बरङ्जा, कुहुँ, तातोपानी, ताकम, धारापानी, बिम, देविस्थान, निस्कोट र अर्मन क्षेत्रको अरिङ्गाल दरवाङ र बाबियाचौरका होटलमा खपत हुन्छ ।

अरिङ्गाल शिकारी तमबहादुर पुनका अनुसार गोलासहितको एक किलो अरिङ्गाल रु ३,०००–३,५०० मा बिक्री हुन्छ । शिकार र पालनमार्फत एक याममा करिब एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिन्छ । बेनी–६ जामूनाखर्कका अशोक र गीता पाइजा शाहीले व्यवसायिक रूपमा अरिङ्गाल पालन गर्दै आएका छन् ।

गत वर्ष ३० किलोग्राम लार्भा उत्पादन गरेका उनीहरूले यस वर्ष २५ गोला पालेर एक क्विन्टल लार्भा बेच्ने लक्ष्य राखेका छन् । एक गोलाबाट करिब आठ किलोग्राम लार्भा निकाल्न सकिन्छ र दुई–दुई महिनामा उत्पादन पुनः लिन सकिन्छ । जेठदेखि कात्तिकसम्म यसको व्यापार हुने गर्छ ।

तर, अरिङ्गाल पाल्न वा शिकार गर्न भने सजिलो छैन । रुखको टुप्पा र भिरालो ठाउँमा हुने भएकाले खतरापूर्ण हुन्छ । अरिङ्गाल रिसाएर टोक्दा ज्यानै जाने सम्भावना हुने भएकाले विशेष पोशाक प्रयोग गरेर मात्रै शिकार गर्नुपर्ने किसानहरूको अनुभव छ ।

रातो र कालो गरी दुई जातका अरिङ्गाल पाइन्छन् । शिकारीहरूले आगोले गोला पोलेर निकाल्दा अरिङ्गाल मर्ने, टोकाइले घाइते हुने, रुख चढ्दा लडेर दुर्घटना हुने सम्भावना उत्तिकै रहने भएकाले सावधानी आवश्यक हुने बताइन्छ ।

Facebook Comments Box