पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन सुरु

काठमाडौँ, २ असोज – आगजनीका कारण जलेर ध्वस्त बनेको सर्वोच्च अदालतमा आजदेखि पालमुनिबाटै इजलास सञ्चालन गरिएको छ।अदालतको प्रवेशद्वारबाटै जलेका भवन, भाँचिएका टेबल–कुर्सी र जलेका सवारी साधन देख्न सकिन्छ।

कर्मचारी बस्ने ठाउँ नभएकाले सर्वोच्चको प्राङ्गणमा पाल टाँगेर अस्थायी इजलास तयार गरिएको हो। त्यहाँ काठका टेबल–कुर्सी राखेर एकातर्फ न्यायाधीश, अर्कातर्फ कानुन व्यवसायी र बीचमा इजलास अधिकृत बस्ने व्यवस्था गरिएको छ।

सर्वोच्च अदालतको पूर्ण बैठकले विषम परिस्थितिमा पनि न्यायिक प्रक्रिया अघि बढाउने निर्णय गरेपछि इजलास सञ्चालन गरिएको हो। आज न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासमा तीनवटा बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सम्पन्न भएको अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा भवन र मुद्दाका मिसिलसहित भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो।

प्रवक्ता कोइरालाका अनुसार सर्वोच्च, विशेष र जिल्ला अदालत गरी २३ वटा अदालत भवनमा क्षति पुगेको छ। केही भवन पूर्णरूपमा नष्ट भएका छन् भने केहीमा आंशिक क्षति पुगेको छ।

पूर्ण रूपमा नष्ट भएका मुद्दाका मिसिल पुनःसंकलनका लागि सर्वोच्चको पूर्ण बैठकले विशेष निर्देशिका बनाउन लागेको छ। अदालतमा हाल करिब २६ हजार मुद्दा दर्ता रहेका थिए।

Facebook Comments Box