एमाले विधान महाधिवेशन शुक्रबारदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौँ, १९ भदौ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शुक्रबारदेखि सुरु हुन लागेको दोस्रो विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नुहुनेछ। यस महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनेछन्।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ आयोजना हुने महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ।

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोग प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल पनि हुने छ।

गौतमका अनुसार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण, पार्टीको कार्यदिशा, वर्तमान चुनौतीहरू र कार्यभार समेटिनेछ। प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पार्टीको गन्तव्यको रूपमा अघि बढाउने मार्गचित्र समेटिनेछ।

Facebook Comments Box