खोटाङमा राष्ट्रिय परिचयपत्रको फारम भर्न सेवाग्राही हैरान
खोटाङ, १३ भदौ – खोटाङ जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रको फारम भर्ने सेवाग्राहीको भीड बढेपछि सेवाग्राहीले ठूलो सास्ती भोग्नुपरेको छ। बिहान १० बजेदेखि ‘टोकन’ प्रणालीमार्फत सेवा शुरु भए पनि एकै स्थानमा एक जना कर्मचारी मात्र खटिएकाले धेरैजसो सेवाग्राही राति अबेरसम्म पालो नपाई फर्किन बाध्य भएका छन्।
सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका वृद्धवृद्धा र अपाङ्गता भएका नागरिकलाई वायोमेट्रिक्स अनिवार्य भएपछि झन् समस्या बढेको हो। सेवाग्राही प्रशासनमा आएर सेवा लिन नपाएपछि कतिपय फलैँचामा, कतिपय समितिको पार्किङ स्थलमा बस्न बाध्य छन्।
दैनिक १०० जनाभन्दा बढी सेवाग्राही आउने गरेको प्रशासनले जनाएको छ। तर एक व्यक्तिको विवरण भर्न औसत १५ मिनेट लाग्ने र सर्भर प्राविधिक समस्या देखिने भएकाले पालो कुर्नुपर्ने समय लम्बिएको छ। राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनका प्रमुख फनिन्द्र राईका अनुसार वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई बढी सास्ती भएको छ।
यस्तै, बैंकहरूले खाता खोल्न परिचयपत्र अनिवार्य गरेपछि लाभग्राहीको भीड थपिएको हो। दिक्तेल रूपाकोट मझुवागढीका पाँच वडामा सामाजिक सुरक्षा भत्ता लिनेको बैंक परिवर्तन भएपछि थप समस्या उत्पन्न भएको सामाजिक सुरक्षा एकाइका सहायक गम्भीर खत्रीले बताए। जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिकाको फारम दिक्तेलस्थित प्रशासन कार्यालयमै भरिनुपर्ने भएकाले सेवाग्राही तीन–तीन दिनसम्म होटलमा बस्न बाध्य भएका छन्।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले चापलाई मध्यनजर गर्दै राति अबेरसम्म पनि सेवा दिइरहेको जानकारी दिँदै छिट्टै स्थानीय तहसँग समन्वय गरी अस्थायी दर्ता केन्द्र गाउँमै सञ्चालन गर्ने योजना बनाएको बताइन्। २०७७ साउन १ गतेदेखि फारम भर्ने काम सुरु गरिएको खोटाङमा हालसम्म १ लाख २२ हजार २७५ नागरिकले राष्ट्रिय परिचयपत्रका लागि फारम भरिसकेको तथ्याङ्क छ।

