प्रधानमन्त्री ओली दुबईमा
दुबई, १९ साउन – प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान जानुअघि दुबई आइपुगेका छन्। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गएराति ११:५५ बजे काठमाडौँबाट दुबईको उडानमार्फत प्रस्थान गरी स्थानीय समयअनुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
विमानस्थलमा संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायतले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए। प्रधानमन्त्री ओलीले साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने सम्मेलनमा राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा सहभागिता जनाउने कार्यक्रम रहेको छ। उक्त सम्मेलनमा एलएलडिसी राष्ट्रहरूका नेताहरूले आपसी सहकार्य, दिगो विकास, अन्तरदेशीय व्यापार तथा पहुँच विस्तारजस्ता विषयमा छलफल गर्नेछन्।

