धरहरा १२ घण्टा खुला, सार्वजनिक बिदामा पनि अवलोकन गर्न सकिने

काठमाडौँ, १ साउन – काठमाडौंको पुनःनिर्मित धरहरा आज (१ साउन)देखि हरेक दिन १२ घण्टा खुला हुने भएको छ। अब धरहरा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अवलोकनका लागि खुला रहनेछ।

सहरी विकास मन्त्रालयका अनुसार नागरिकको सुविधा र गुनासोलाई मध्यनजर गर्दै अवलोकन समय विस्तार गरिएको हो। मन्त्रालयका प्रवक्ता नारायण मैनालीले धरहरा अब दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिनुभयो।

यसअघि धरहरा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्र खुल्ने गरिन्थ्यो। नागरिकबाट आएको सुझावपछि नयाँ कार्यतालिका लागू गरिएको मन्त्रालयले जनाएको छ।

धरहरा  सार्वजनिक बिदाको दिनमा पनि नियमित रूपमा खुला रहनेछ। “धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि खुला रहनेछ,” प्रवक्ता मैनालीले भन्नुभयो।

२०७२ सालको भूकम्पमा ढलेको धरहरा पुनःनिर्माणपछि गत असोज ३ गते परीक्षण रूपमा खुलाइएको थियो भने गत मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि सशुल्क रूपमा सञ्चालन गरिएको हो।

धरहरा सञ्चालनको सात महिनामा टिकटबाट रु ४ करोड ३३ लाख ९३ हजार ६५० राजस्व संकलन भएको छ। यो अवधिमा २ लाख ३७ हजार ६५ जना दर्शकले धरहराको अवलोकन गरेका छन्।

धरहराको सञ्चालन विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम गरिएको हो। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको चासोलाई ध्यान दिँदै धरहरा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ।

Facebook Comments Box