विषालु च्याउ सेवन गर्दा कञ्चनपुरमा एकै परिवारका पाँच जना बिरामी

कञ्चनपुर, ३१ असार – कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–६ स्थित कालागडमा विषालु च्याउ सेवनबाट एकै परिवारका पाँच जना बिरामी परेका छन्। बिरामी पर्नेमा ६३ वर्षीया कालु सुनार, उनकी १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीय नाति भीम सुनार, १२ वर्षीय नाति वसन्त सुनार र ८ वर्षीया नातिनी मन्सु सुनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार ती च्याउ भारतको नङ्ग्रा जङ्गलबाट ल्याइएको थियो। उनले भने, “विषालु च्याउको तरकारी खाँदा पाँचै जना बिरामी भएका हुन्। हाल उनीहरूको दोधारा–चाँदनी अस्पतालमा उपचार भइरहेको छ।”

प्रहरीका अनुसार बिरामीहरूमा बान्ता, पेट दुख्ने र थकान जस्ता लक्षण देखा परेका थिए। अस्पताल स्रोतका अनुसार सबैको अवस्था अहिले खतरामुक्त भए पनि स्वास्थ्य परीक्षण तथा उपचार जारी छ। प्रत्येक वर्ष जंगली च्याउ सेवनबाट मानिस बिरामी पर्ने वा ज्यान गुमाउने घटनाहरू देशभर विभिन्न स्थानमा भइरहन्छन्।

विषालु र अषधीय च्याउ छुट्याउन कठिन हुने भएकाले स्वास्थ्यकर्मीले च्याउ चिन्न नसकेर संकलन तथा सेवन नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएका छन्।

Facebook Comments Box