बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, छ घाइते

बैतडी, २८ असार – बैतडीमा शनिबार बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुप–प्र ०४–००१ ज १३७२ नम्बरको जीप पाटन नगरपालिका–६ स्थित खिपालीमा दुर्घटना भएको हो।

दुर्घटनामा परी डिलासैनी गाउँपालिका–१ का २४ वर्षीय चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो।

घाइते हुनेहरूमा डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षीया छोरी एलिसा, २१ वर्षीय हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार राजेन्द्र खत्री र कमला धामीलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्यको स्थानीय स्तरमै उपचार भइरहेको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयवासीले संयुक्त रूपमा उद्धार कार्य गरेका थिए। बिहान करिब ५ः३० बजे दुर्घटना भएको हो।

जीप सडकबाट करिब १०० मिटर तल भिरमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box