बाढीले २०० मेगावाट विद्युत् उत्पादन बन्द, त्रिशूली करिडोरका आयोजनामा ठूलो क्षति
काठमाडौँ, २४ असार – त्रिशूली नदीमा आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। करिब २०० मेगावाट विद्युत् उत्पादन ठप्प भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएको छ। साथै, सोही आयोजनाको पुल चर्किएकाले आवतजावत बन्द भएको र टेलरेस क्षेत्रमा गेग्रान थुप्रिएको भए पनि पावरहाउसमा भने खास क्षति नदेखिएको बताइएको छ।
यसैगरी, ६० मेगावाट क्षमताको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा बाढी पस्दा भवनमा क्षति भएको आशंका गरिएको छ। त्रिशूली ३ ‘बी’ सबस्टेसन हिलोले पुरिएको र दुबै आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको शाक्यले जानकारी दिए।
चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसमा पनि पानी छरेको भए पनि त्यहाँ ठूलो क्षति नभएको जनाइएको छ। यद्यपि त्रिशूली नदी किनारमा रहेको प्रसारण लाइनको एक बाइपास टावर भने बाढीले बगाएको प्राधिकरणले पुष्टि गरेको छ। प्रवन्ध निर्देशक शाक्यका अनुसार, त्रिशूली करिडोरमा रहेका आयोजनाहरूमा उत्पादन बन्द हुँदा कुल २०० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको हो।

