शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
कञ्चनपुर, २० असार – विश्वमै दुर्लभ मानिने सुनौलो तोप चराको गणना कार्य आजदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सुरु गरिएको छ। नेपाल पन्छी संरक्षण संघ (BCN) को आयोजना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा यो अभियान थालिएको हो।
गणनाका लागि निकुञ्ज र BCN का आठ सदस्यीय प्राविधिक टोली परिचालन गरिएको छ। टोलीले पाँच दिनसम्म निकुञ्जभित्र र दुई दिनसम्म निकुञ्जबाहिरका क्षेत्रमा गणना गर्नेछ।
“वाइनाकुलर, क्यामेरा, दुरबिन र GPS को सहायताले हामी गणना गर्छौं,” चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो, “हिँडेर जान सकिने ठाउँमा पैदल र अन्यत्र हात्ती प्रयोग गरेर गणना गरिनेछ।”
गणनाका प्रमुख क्षेत्रहरूमा सिकारी ताल, शुक्लाफाँट, मालुवेला, लालपानी, हरैया फाँटा, पन्छीताल, वीरसिंह टापु, सुन्दरीफाँटा, सिंहपुरफाँटा, राधापुरफाँटा, बढनी खेरा, अण्डैयापटैयालगायत पर्छन्।
गणनाका क्रममा भाले–पोथीको संख्या, गुँडको अवस्था, गुँड लगाउने रूखको उचाइ र प्रजाति, घाँस तथा आहाराका स्रोत, सिकारी चराको प्रभाव, सुरक्षा चुनौती आदिको विस्तृत अध्ययनसमेत गरिने डगौराले जानकारी दिनुभयो।
दक्षिण एसियाको नेपाल र भारतमा मात्र पाइने संकटग्रस्त सुनौलो तोप चरा हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र भेटिन्छ। घाँसे मैदानको बीच भागमा गुँड बनाउने यो चरा कलात्मक रूपमा रूखका हाँगामा पात सिउँदै गुँड बनाउँछ।
निकुञ्जका रेञ्जर प्रयास केसीका अनुसार सुनौलो रङको र भँगेराजस्तो देखिने भएकाले यसलाई “सुनौलो तोप” भनिन्छ। सन् १९९६ मा पहिलोपटक शुक्लाफाँटामा देखिएको यो चरा अहिले एक सय हाराहारीमा रहेको अनुमान छ।
“सुनौलो तोप चराले कीराफट्याङ्ग्रा खाएर किसानको सहयोगी भूमिका खेल्छ,” संरक्षण अधिकृत पुरुषोत्तम बाग्लेले बताउनुभयो, “सामूहिक रूपमा गुँड बनाउने, आहाराका लागि समुहमा निस्कने विशेषताका कारण यो सामाजिक चराको रूपमा पनि चिनिन्छ।”
निकुञ्ज छेउका काँडेदार रूख तथा सिमसार क्षेत्र वरिपरि गुँड बनाउने यो चराले विशेष गरी मनसुनमा बढी प्रजनन गर्छ। ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा निकुञ्जमा सुनौलो तोपसँगै ४०० बढी प्रजातिका चरा पाइन्छन्।

