भिजिट भिसामा विदेशिने युवाको संख्या घट्यो, अध्यागमनमा कडाइपछि असर
काठमाडौं, १७ असार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा भइरहेको अनियमितता र असुलीबारे अनुसन्धान भइरहँदा विदेश जाने युवाको संख्यामा उल्लेखनीय गिरावट आएको छ। अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, अघिसम्म एक दिनमा ९ देखि १० हजार नेपाली विदेश जाने गरेकोमा अहिले यो संख्या घटेर ६ हजारदेखि ७ हजारको हाराहारीमा सीमित भएको छ।
उनले कडाइका कारण पूर्ण कागजात नपुगेका यात्रुहरूलाई रोक लगाइएको र त्यसैले संख्यामा कमी आएको बताएका छन्। यसबीच, विमानस्थलमा अध्यागमन प्रक्रियामा भइरहेको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य अनुसन्धान थालेको छ। गत ५ जेठदेखि आयोगले ‘कोभर्ट अपरेसन’ चलाउँदै आएको थियो। अनुसन्धानका क्रममा पूर्व अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईको कार्यकालमा २१२ जना भारतीय नागरिकलाई एनओसी (No Objection Certificate) विना तेस्रो मुलुक पठाइएको खुलेको छ।
विमानस्थलबाट भारतमा ९५ किलो सुन तस्करी प्रकरणमा मोस्ट वान्टेड सूचीमा रहेका जागेश्वर शाह पनि उम्किएको पाइएको छ। उनलाई कालोसूचीमा राखिएको भए पनि १९ मार्च २०२५ मा त्रिभुवन विमानस्थलबाट दुबई जान दिइएको थियो। उनका छोरा आशिफ शाह भने यसअघि नै काठमाडौंबाट बाहिरिसकेका थिए।
भारतीय दूतावासले शाहहरूलाई कालोसूचीमा राख्न औपचारिक पत्राचार गरेको भए पनि त्यसको कार्यान्वयनमा लापरवाही भएको देखिएको छ। यसबारे गृह मन्त्रालयले पनि आन्तरिक छानबिन समिति गठन गरेको थियो। दुई जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइए पनि शाहको विदेश प्रस्थानलाई ‘प्राविधिक गडबडी’ भनेर औपचारिक रूपमा व्याख्या गरिएको थियो।
यता, भिजिट भिसामा संगठित असुली भइरहेको सूचनाका आधारमा अख्तियारको अनुसन्धान अगाडि बढेको थियो। तर, अनुसन्धान सुरू भएको तीन दिनमै गृह प्रशासनमा सूचना चुहिएको र त्यसपछि भट्टराईको आकस्मिक सरुवा भएको थियो। भोलिपल्टै अख्तियारले उनको कार्यालयमै छापा मारेर तीनवटा मोबाइलसमेत नियन्त्रणमा लिएको थियो।
घटनाले अध्यागमन प्रणालीभित्रको व्यापक समस्या उजागर भएको भन्दै सुधारको माग चुलिएको छ। भिजिट भिसाका नाममा हुने अवैध गतिविधि रोक्न सरकारले थप कडाइ गर्नुपर्ने आवाज उठ्न थालेको छ।

