जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

काठमाडौँ, १४ असार – जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयले एसईई २०७८ मा उत्कृष्ट नतिजा हासिल गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार, विद्यालयबाट सहभागी २९ मध्ये ६ जनाले ४.० जिपिए, र बाँकी सबैले ३.८ जिपिएभन्दा माथि अंक ल्याएका छन्।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टका अनुसार परीक्षार्थीमध्ये ११ जना छात्र र १८ जना छात्रा थिए। विद्यार्थीको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको सहकार्य नै यस सफलताको आधार रहेको उहाँले बताउनुभयो।

विदेशमा रहेको भए पनि नेपाली पाठ्यक्रम अनुसार अध्ययन हुने यो विद्यालयबाट यो पटक पाँचौँ समूहले एसईई दिएको हो। हाल विद्यालयमा नेपाल, भारत, बङ्गलादेश, जापान र जाम्बियाका ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

सन् २०१३ मा स्थापना भएको यस विद्यालयलाई जापानको शिक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यालयसरह मान्यता दिएको छ। हाल विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय पनि पढाइन्छ।

त्यस्तै, टोकियोकै आराकावा सहरमा नर्सरीदेखि कक्षा ५ सम्मको नयाँ शाखासमेत विद्यालयले सञ्चालनमा ल्याएको जानकारी प्रधानाध्यापक भट्टले दिनुभयो।

Facebook Comments Box