त्रिविको निर्णय उल्टियो: अब बेतलबी बिदा पेन्सनमा नजोडिने

काठमाडौं, २ असार — त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्राध्यापक र कर्मचारीलाई बेतलबी बिदा सेवाअवधिमा गणना गरी पेन्सन दिने निर्णय उल्टाएको छ। अबदेखि बेतलबी (असाधारण) बिदा पेन्सन गणनामा समावेश नहुने भएको छ।

त्रिविको कार्यकारी परिषद्ले गत शुक्रबार बैठकमार्फत उक्त निर्णय गरेकामा आइतबार परिषद्का सदस्यहरूले हस्ताक्षर गरेका छन्। त्रिविका एक उच्च अधिकारीका अनुसार, “अब बेतलबी बिदा पेन्सनमा समावेश हुने छैन।”

यसअघि बेतलबी बिदालाई सेवाअवधिमा गनी पेन्सन लिईसकेकाहरूबाट रकम फिर्ता लिने या नलिने भन्नेबारे भने त्रिविले अझ निर्णय गरेको छैन। स्रोतअनुसार, त्रिवि यसबारे विस्तृत छानबिन गर्न समिति गठन गर्ने तयारीमा छ।

 हालसम्म १२६ जना प्राध्यापकले बेतलबी बिदा जोडेर पेन्सन लिएका छन्। यसबाट त्रिविलाई वार्षिक ६ करोड ७३ लाख रुपैयाँभन्दा बढीको आर्थिक भार परेको देखिएको छ। त्रिविका अनुसार उप–प्राध्यापकदेखि प्राध्यापक तहसम्म हाल ४,१५६ जना पेन्सन सुविधा प्राप्त गरिरहेका छन्।

बेतलबी बिदालाई सेवा अवधिमा गणना गर्ने व्यवस्था त्रिविका नियमावलीमा स्पष्ट रूपमा उल्लेख नभएको र निजामती सेवामा पनि यस्तो प्रावधान नभएको त्रिवि स्रोतको भनाइ छ।

कार्यकारी परिषद्ले मन्त्रिपरिषद्‌बाट स्वीकृत नभएका बेतलबी काजलाई पनि पेन्सन गणनामा नसमेट्ने निर्णय गरेको छ। पूर्वमा त्रिविका प्राध्यापकहरू अन्य निकायमा बेतलबी काजमा गई त्रिविको पठनपाठनमा असर पारेको भन्दै यस्तो निर्णय गरिएको हो।

त्रिविका एक अधिकारीले भने, “अब मन्त्रिपरिषद्बाट निर्णय भएको खण्डमा मात्र बेतलबी काज पेन्सनमा जोडिनेछ, अन्यथा होइन।”

Facebook Comments Box