कलंकीमा स्कुल भ्यान दुर्घटना : एक बालिकाको मृत्यु, सात घाइते

काठमाडौं, २ असार — काठमाडौँको कलंकीस्थित इडिफाइ इन्टरनेसनल स्कुलको कम्पाउन्डभित्र स्कुलको विद्युतीय माइक्रो भ्यान गेटको पिलरमा ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटना सोमबार दिउँसो १२:५० बजे काठमाडौँ महानगरपालिका–१४ स्थित विद्यालय परिसरमै भएको थियो।

सर्लाहीकी ९ वर्षीया सोनाक्षी यादव गम्भीर घाइते भई सहिद मेमोरियल अस्पताल लगिएकोमा १३:३६ मा चिकित्सकले मृत घोषणा गरेका काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। दुर्घटनामा परेर अन्य सात जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जना बालबालिका र दुई जना विद्यालयका कर्मचारी छन्।

घाइते हुनेमा:

रेश्मा मोक्तान (८), लालबन्दी, सर्लाही, नेशिया थापा (९), स्वयम्भु, रामेछाप, निकिशा डंगोल (९), कीर्तिपुर, सिमरन खड्का (११), मकवानपुर, प्रेमिसा घर्ती मगर (९), गुल्मी उनीहरूको कलंकीस्थित नेसनल अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी, विद्यालयका प्रधानाध्यापक सुरज पोखरेल (४६), तनहुँ र भ्यान चालक हर्कबहादुर कार्की (६०), धनुषा घाइते छन्। उनीहरूको बल्खुको वयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानमा भ्यानको नियन्त्रण गुमिएको हुन सक्ने आशंका गरिएको छ।

Facebook Comments Box